अमेरिका लैजाने र बिहे गर्ने प्रलोभन देखाएर अनलाइनमार्फत १५ लाख ठगी गर्ने श्रीमान्-श्रीमती पक्राउ
असार ३, २०८३ १७:४२
काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी लाखौँ ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भई हाल काठमाडौँ बस्ने ३९ वर्षीय सञ्जिव नेपाली र उनकी श्रीमती सरिता पराजुली रहेका छन् ।
प्रहरीको साइबर ब्युरोले उनीहरूलाई मङ्गलबार काठमाडौँको माछापोखरी क्षेत्रबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार आरोपी सञ्जिव नेपालीले टिकटकमा ‘प्रिन्स तामाङ ४३१’ नामको नक्कली अकाउन्ट बनाएर महिलाहरूलाई प्रलोभनमा पार्ने गरेका थिए । उनले सोही अकाउन्टमार्फत एक महिलालाई सम्पर्क गरी आफू अमेरिकामा रहेको र नेपाली भाषा स्पष्ट बोल्न नजान्ने भन्दै विश्वासमा पारेका थिए ।
उनले टिकटकमा कुराकानी गर्दा कहिल्यै आफ्नो अनुहार देखाउँदैनथे । ती महिलालाई विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाउँदै उनले थप कुराकानीका लागि 'आफ्नी बहिनीको नम्बर' भन्दै एउटा ह्वाट्सएप नम्बर उपलब्ध गराएका थिए । उनले उक्त नम्बर 'सरगम तामाङ'को भएको बताएका थिए । तर, वास्तवमा ती महिला 'सरगम' नभएर सञ्जिवकी श्रीमती सरिता पराजुली थिइन् । श्रीमती सरिताले पनि नन्द बनेर ती महिलालाई विभिन्न प्रलोभन देखाई ठगीमा सघाएकी थिइन् ।
यसबारे जानकारी दिँदै ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भने, “अमेरिका जानका लागि विभिन्न प्रक्रिया पुर्याउनुपर्ने भन्दै पीडित महिलाबाट पटक-पटक गरी १५ लाख १० हजार ५०० रुपैयाँ असुल गरिएको देखिन्छ । रकम हात पारेपछि उनीहरू सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएकी हुन् ।”
प्राप्त उजुरीका आधारमा प्राविधिक विश्लेषण र अनुसन्धान गरी ब्युरोले ती दम्पतीलाई पहिचान गरी पक्राउ गरेको हो । उनीहरूमाथि विद्युतीय माध्यम सम्बद्ध ठगीको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
ब्युरोले यस्ता अनलाइन प्रलोभन र ठगीबाट बच्न आग्रह गर्दै यदि कोही ठगीमा परेको भए तत्काल नजिकैको प्रहरी कार्यालय वा साइबर ब्युरोको ईमेल [email protected] मा उजुरी दिन अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असार ३, २०८३ १७:४२
