close

एन्ड्रोइड एपले ट्र्याक गर्न नसक्ने गरी डकडकगोले ल्यायो नयाँ टुल

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १९:१५

एन्ड्रोइड एपले ट्र्याक गर्न नसक्ने गरी डकडकगोले ल्यायो नयाँ टुल

काठमाडौं । सर्च इन्जिन डकडकगोले एन्ड्रोइड प्रयोगकर्तालाई विभिन्न एपले ट्रयाक गर्ने सिस्टमलाई रोक्ने गरी नयाँ टुल निर्माण गरेको छ ।

‘एप ट्र्याकिङ प्रोटेक्सन’ नामक यो टुल करिब एप्पलको ‘एप ट्र्याकिङ ट्रान्सपरेन्सी’ फिचर जस्तै छ, जसमा प्रयोगकर्ताले कुनै पनि एपले आफ्नो गतिविधि ट्र्याक गर्न दिने कि नदिने भनेर छान्न सक्छन् ।

यद्यपि यो टुल सार्वजनिक भने भइसकेको छैन । यसका लागि प्रयोगकर्ताले डकडकगोको ब्राउजिङ एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

कुनै पनि एपले थर्ड पार्टी ट्र्याकरलाई प्रयोगकर्ताको डेटा फर्वाड गर्न लागेको यो टुलले पत्ता लगाएर प्रयोगकर्तालाई यसबारे जानकारी दिन्छ ।

यसपछि प्रयोगकर्ताले सो एपलाई आफूलाई ट्र्याक गर्ने अनुमति दिने कि नदिने भनेर छनौट गर्न सकिन्छ ।

साथै यो डकडकगो एपमार्फत प्रयोगकर्ताले रियल टाइममा टुलले ब्लक गरिदएको ट्र्याकरको विवरण र प्रयोगकर्ताको डेटा कता गइरहेको छ भनेर थाहा पाउन सकिन्छ ।

कम्पनीका अनुसार एप ट्रयाकिङ प्रोटेक्सन टुलले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) जस्तो नभए पनि केही हदसम्म यसले काम गर्ने बताएको छ ।

यो टुलको निर्माणको क्रममा डकडकगोले गरेको आफ्नो आन्तरिक परीक्षणमा करिब ९६ प्रतिशत एन्ड्रोइड एपहरूमा थर्ड पार्टी ट्र्याकर भएको पाएको थियो ।

जसमध्ये ८७ प्रतिशत एपले गुगललाई प्रयोगकर्ताको डेटा पठाउने र ६८ प्रतिशतले प्रयोगकर्ताको डेटा फेसबुकलाई पठाउने गरेको पाइएको छ ।

हाललाई यो टुलको बेटा भर्सन एप स्टोरमा उपलब्ध छ । यो टुल प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्ले स्टोरबाट डकडकगो एप डाउनलोड गर्न सक्छन् ।

त्यसपछि एप ओपन गरेर सेटिङमा गई प्राइभेसी सेटिङमा क्लिक गरेर ‘एप ट्रयाकिङ प्रोटेक्सन’ इनेबल गर्न सकिन्छ । त्यहाँ गएर ‘जोइन दि प्राइभेट वेटलिस्ट’ मा क्लिक गर्नुहोस् ।

यदि यो फिचर तपाईंको मोबाइलमा आइसकेको छैन भने तपाईं वेटिङ लिस्टमा हुनुहुनेछ । कम्पनीले विस्तारै सबै प्रयोगकर्ताको फोनमा यो टुल उपलब्ध गराउने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३