काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै फोनलोन पनि किस्तामा बुझाउन सकिने सेवा उपलब्ध गराएको छ । गत वर्ष अक्टोबर महिनादेखि फोनलोन सञ्चालनमा ल्याएको बैंकले त्यसलाई परिमार्जन गर्दै ग्राहकलाई थप नयाँ सुविधा उपलब्ध गराएको हो ।
बैंकले एफवान सफ्ट इन्टरनेशन प्रालिसँगको सहकार्यमा किस्तामा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो । यसअघि उपलब्ध फोनलोनमा ग्राहकले कर्जा लिएको एक महिनामै पैसा भुक्तानी गर्नुपर्ने झन्झट थियो ।
उक्त सेवामा ग्राहकबाट आएको गुनासोलाई सम्बोधन गर्दै बैंकले किस्ता सुविधा उपलब्ध गराउने भएको हो । योसँगै फोनलोन लिने ग्राहकले एक महिना, तीन महिना, छ महिना, नौ महिना, एक वर्ष वा कति समयमा कर्जा बुझाउने हो भन्ने विषय आफैंले निर्धारण गर्न सक्नेछन् ।
बैंकमा विभिन्न तलब खाता भएका ग्राहकले न्यूनतम एक हजारदेखि अधिकतम दुई लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कर्जा लिन सक्नेछन् । त्यसका लागि कुनै धितो वा कागजी प्रक्रिया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।
उक्त कर्जा ग्राहकको आयश्रोतका आधारमा सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न सहज हुने जनाइएको छ ।
यसका साथै बैंकले फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी त्यसको ‘बाई नाउ, पे लेटर’ अवधारणामा किस्ता सुविधा उपलब्ध गराएको छ ।
यसको अर्थ पैसा नभएको खण्डमा पनि सामान खरिद गरी पछि तिर्न सकिनेछ ।