काठमाडौँ । एसोसियो डिजिटल एआई अवार्ड २०२६ का लागि आवेदन माग गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले एसियन-ओसिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनले आयोजना गर्ने अवार्डका लागि आवेदन माग गरेको हो ।
यो अवार्ड कार्यक्रम नेपालको सूचना प्रविधि क्षेत्र र यहाँका नवप्रवर्तनकारी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने महत्त्वपूर्ण माध्यम बन्ने क्यानको अपेक्षा छ ।
डिजिटल अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा उल्लेख्य योगदान पुर्याइरहेका नेपाली कम्पनी तथा संस्थाहरूलाई प्रतिस्पर्धामा आउन क्यानले आग्रह गरेको छ । नेपाली प्रविधि कम्पनीहरूलाई प्रोत्साहन र सशक्तीकरण गर्न तथा यस प्रक्रियामा थप सहज र प्रभावकारी बनाउन महासङ्घले पूर्ण रूपमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
अवार्डका विधा
यस वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगमार्फत विभिन्न क्षेत्रमा रूपान्तरण ल्याउने उत्कृष्ट पहलहरूलाई विभिन्न ८ विधामा पुरस्कृत गरिने बताइएको छ । साइबर सुरक्षा, डिजिटल प्रतिरोध क्षमता र इमर्जिङ थ्रेटहरू विरुद्ध एआईको प्रयोग गर्ने संस्थाहरूका लागि एआई इन साइबर सेक्युरिटी अवार्ड रहेको छ।
सामाजिक, वातावरणीय र दिगो विकास लक्ष्य हासिल गर्न एआई प्रयोग गर्ने पहलहरूले एआई फर पब्लिक गुड अवार्डमा भाग लिन सक्नेछन् । शैक्षिक इकोसिस्टम र सिकाइको गुणस्तर सुधार गर्ने प्रविधिका लागि एआई इन एजुकेसन अवार्ड र स्वास्थ्य सेवा प्रवाह र क्लिनिकल परिणाममा सुधार ल्याउने एआई सोलुसनका लागि एआई इन हेल्थकेयर अवार्ड राखिएको छ ।
त्यस्तै कृषि उत्पादकत्व र किसानहरूको आर्थिक सबलीकरणमा योगदान पुर्याउने इनोभेसनले एआई इन स्मार्ट एग्रिकल्चर अवार्डमा प्रतिस्पर्धा गर्न सक्नेछन् । बैङ्कङ, फिनटेक र बीमा क्षेत्रमा सुरक्षित र समावेशी वित्तीय रूपान्तरणको क्षेत्रमा काम गर्नेहरूले एआई इन फाइनान्सियल सर्भिसेज अवार्डमा भाग लिन सक्नेछन् ।
यसैगरी डिजिटल अपस्किलिङ र भविष्यको डिजिटल अर्थतन्त्रका लागि जनशक्ति तयार गर्न काम गरिरहेकाहरूका लागि एआई इन वर्क फोर्स एन्ड फ्युचर स्किल्स अवार्डमा रहेको छ । औद्योगिक उत्पादन र लजिस्टिक प्रक्रियालाई एआईमार्फत चुस्त बनाउने प्रयासमा काम गरिरहेका कम्पनीहरूले एआई इन म्यानुफ्याक्चरिङ/सप्लाई चेन अवार्डका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।
को-को सहभागी हुन पाउँछन् ?
साना, मझौला र ठुला उद्योग लगायतका कर्पोरेट संस्था, स्टार्टअप, सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्थाहरू र गैर-नाफामूलक संस्थाहरूले अवार्डका लागि आवेदन दिन सक्नेछन् ।
प्रस्तावित एआई सोलुसन कम्तीमा पाइलट चरणमा कार्यान्वयन भएको हुनुपर्नेछ भने विगत २४ महिनाभित्र स्पष्ट नतिजा देखाएको हुनुपर्नेछ ।
एक आवेदकले मात्र एक विधामा आवेदन दिन सक्नेछन् । इच्छुक संस्थाहरूले तोकिएको ढाँचामा पीडीएफ फर्म्याटमा ४ देखि ५ पानाको प्रस्ताव बुझाउनुपर्नेछ ।
प्रस्ताव तयार गर्दा Trebuchet MS फन्ट, न्यूनतम १२ pt र १-इन्च मार्जिन प्रयोग गर्नुपर्नेछ । प्रस्तावमा कभर पेज, १ पानाको कार्यकारी सारांश (Executive Summary), संस्थाको पृष्ठभूमि, एआई परियोजनाको प्राविधिक उत्कृष्टता र उत्तरदायी एआई व्यवस्थापन स्पष्ट खुलाइएको हुनुपर्नेछ ।
यसअघि आवेदन दिने अन्तिम मिति १५ मे २०२६ रहेकोमा आवेदन नै नपरेकाले एसोसियोसँगको समन्वयमा १५ जुन २०२६ सम्म समय थप गरिएको क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले जानकारी दिए ।
इच्छुक कम्पनीले क्यानको ईमेल एड्रेस [email protected] मा आफ्नो आवेदन पठाउन तथा क्यानको सचिवालयमा सम्पर्क गर्न सक्नेछन् ।
इन्डोनेसियाको बालीमा ३० जुलाई २०२६ मा हुने डिजिटल एआई समिट २०२६ को अवसरमा अवार्ड वितरण गरिने छ । यसका लागि नेपालबाट छनोट हुने कम्पनीको नाम र विवरण क्यानले एसोसियोलाई पठाउने बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १६:२९
