close

आईसीटी अवार्ड सम्पन्न, यी हुन् १२ विधाका सर्वोत्कृष्ट विजेता

टेकपाना टेकपाना

पुस ३, २०७८ २१:१२

आईसीटी अवार्ड सम्पन्न, यी हुन् १२ विधाका सर्वोत्कृष्ट विजेता

काठमाडौं । एफवान सफ्ट आईसीटी अवार्ड २०२१ सम्पन्न भएको छ । लिभिङ विथ आईसीटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आईसीटी अवार्ड प्रदान गरिएको छ ।

यसअन्तर्गत पायोनियर आईसीटी अवार्डबाट आईसीटी विज्ञ मनोहरकुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल वुमन आईसीटी अवार्ड नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले प्राप्त गरिन् ।

आन्टप्रेनर आईसीटी अवार्ड योमरी कम्पनीका संस्थापक दिपेश प्रधानले प्राप्त गरे । नेपाली डायस्पोरा आईसिटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरियो ।

आईसीटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गभर्नेन्स आईसीटी अवार्ड यस वर्ष भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ ।

विभिन्न ३० बढी सरकारी संस्थाहरुको प्रतिस्पर्धामा विभागले अवार्ड प्राप्त गरेको हो ।

यसैगरी डिजिटल सर्भिसेस आईसीटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले प्राप्त गरेको छ । डिजिटल एजुकेशन आईसीटी अवार्ड पब्लिक र प्राइभेट सेक्टर क्रमशः कालिका मानवज्ञान बुटवल र रातोबंगला स्कुल पाटनले प्राप्त गरेका छन् ।

अवार्डमा महत्वपूर्ण र प्रतिस्पर्धात्मक रुपमा पब्लिक भोटिङ समेत सञ्चालन भएका विधाहरुमध्ये ह्वावे स्टार्टअप आईसीटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ ।

यसैगरी प्रडक्ट आईसीटी अवार्ड मिखा प्रडक्टले प्राप्त गर्यो । राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरुले तयार पारेको मुसुरले प्राप्त गरेको छ ।

यी तिन विधाका उत्कृष्ट १०र१० गरि ३० मध्येबाट पब्लिक च्वाइस आईसीटी अवार्ड बगभीले प्राप्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. वैकुण्ठ अर्याल, सचिव शुरेश आचार्य, राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. पुष्परमण वाग्ले र डा. राम कुमार फुयालले विजेतालाई अवार्ड प्रदान गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२