close

वितरण प्रणालीलाई डिजिटल बनाउन जावलाखेल ग्रुप र हिमालयन डिस्टिलरीको आईएमएस सफ्टवेयरसँग सहकार्य

टेकपाना टेकपाना

जेठ १३, २०८३ २२:४९

वितरण प्रणालीलाई डिजिटल बनाउन जावलाखेल ग्रुप र हिमालयन डिस्टिलरीको आईएमएस सफ्टवेयरसँग सहकार्य

काठमाडौँ । मदिरा उत्पादन तथा वितरण कम्पनीहरू जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज र हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो वितरण व्यवस्थापन प्रणालीलाई प्रविधिमैत्री बनाउन आईएमएस सफ्टवेयरसँग सहकार्य गरेका छन् । यस साझेदारी अन्तर्गत आईएमएस सफ्टवेयरले दुवै कम्पनीमा ‘डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम’ र ‘सेल्स फोर्स अटोमेसन’ प्रणाली कार्यान्वयनमा ल्याउने छ ।

सो सम्झौतामा हिमालयन डिस्टिलरी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज सुवेदी, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका तर्फबाट फाइनान्स म्यानेजर निमिष शर्मा र आईएमएस सफ्टवेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।

देशभर विशाल वितरण सञ्जाल रहेका यी कम्पनीहरूले दैनिक रूपमा मौज्दात (स्टक) व्यवस्थापन, बिलिङ, वितरकहरूसँगको समन्वय, गोदाम सञ्चालन तथा फिल्ड सेल्स जस्ता जटिल कार्यहरू सम्पादन गर्दै आएका छन् । बढ्दो व्यावसायिक आवश्यकतालाई मध्यनजर गर्दै अब डिजिटल प्रणालीमार्फत यी प्रक्रियाहरूलाई अझ छिटो, सहज र प्रभावकारी बनाइने कम्पनीहरूले जनाएका छन् ।

आईएमएस सफ्टवेयरले उपलब्ध गराउने डीएमएस प्रणालीले स्टक ट्रयाकिङ, स्वचालित बिलिङ, गोदाम व्यवस्थापन, बिक्री अनुगमन, योजना तर्जुमा र रिपोर्टिङ कार्यलाई थप व्यवस्थित बनाउनेछ । यसबाट सम्पूर्ण वितरण प्रक्रियामा पारदर्शिता आउनुका साथै कार्यदक्षतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, मोबाइलमा आधारित 'एसएफए' प्रणालीले फिल्डमा खटिने टोलीलाई प्रत्यक्ष अर्डर बुकिङ (Live Order Booking), रुट प्लानिङ, आउटलेट ट्रयाकिङ र रियल-टाइम अपडेट जस्ता सुविधाहरू प्रदान गर्नेछ । फिल्डबाट प्राप्त हुने जानकारीहरू तत्कालै केन्द्रीय प्रणालीमा अद्यावधिक हुने भएकाले कम्पनीको निर्णय प्रक्रिया थप छिटो र तथ्यपरक बन्ने विश्वास लिइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १३, २०८३ २३:३