काठमाडौं । समाचार एजेन्सी एसोसियटेड प्रेस (एपी) ले आफ्ना फोटो पत्रकारहरूका लागि नन फन्जिबल टोकन (एनफटी) मार्केटप्लेस सुरु गर्ने भएको छ । जुआ (Xooa) नामक कम्पनी सँगको सहकार्यमा कम्पनीले आफ्नै प्लेटफर्म सुरु गर्न लागेको हो ।
यस प्लेटफर्म मार्फत खरिदकर्ताहरूले एपीका फोटोपत्रकारहरूले खिचेका ऐतिहासिक तथा अवार्ड प्राप्त फोटोहरू खरिद गर्न सक्नेछन् । एक सूचना जारी गर्दै एपीले यस विषयमा जानकारी दिएको हो ।
सुरुवाती चरणमा एपीमा हाल कार्यरत र साविकका फोटोपत्रकारले खिचेका केही फोटोहरू मार्केटप्लेसमा राखिनेछ जसमा पुलित्जर अवार्ड जित्न सफल फोटोहरू पनि समावेश गरिनेछ । १७५ वर्ष लामो इतिहासमा एपीका फोटोग्राफरहरूले विश्वका सबैभन्दा ठूला कथाहरूलाई आकर्षक र मार्मिक फोटोमा कैद गरेका छन् ।
सोही फोटोहरूलाई विश्वका दर्शक माझ पुर्याउन यो काम गर्न लागिएको एपीले जनाएको छ । प्रत्येक एनफटीमा फोटो खिचिएको मिति, समय, स्थान, फोटो खिच्दा प्रयोग भएका उपकरणहरू र प्रयोग गरिएको फोटो खिच्ने विधिहरूको विषयमा पनि विवरण उल्लेख गरिनेछ । मार्केटप्लेसमा अन्तरिक्ष, युद्ध, वातावरण, मौसम, आन्दोलन लगायतका तस्वीरहरू समावेश गरिनेछ ।