काठमाडौं । एलन मस्ककाे कम्पनी स्पेसएक्सको रकेट अनियन्त्रित भएर पृथ्वीमा फर्काउन नसकिएपछि चन्द्रमामा ध्वस्त पार्ने तयारी भइरहेको छ । यो अहिले ६००० माइल प्रति घण्टाको गतिमा चन्द्रमातर्फ गइरहेको छ ।
यसलाई मार्च ४ मा चन्द्रमामा नै नाश गर्ने तयारी भइरहेको छ । क्लाइमेट अब्जर्मेसन स्याटलाइट (मौसम अवलोकन गर्ने भू-उपग्रह ) पृथ्वीको कक्षमा पठाउनका लागि यो ‘फाल्कन ९’ रकेट सात वर्षपहिले २०१५ को फेब्रुअरीमा प्रक्षेपण गरिएको थियो ।
तर इन्धन कमीका कारण यो रकेट अनियन्त्रित भएर कक्षमा नै घुमिरहेको छ । यो रकेट चन्द्रमामा अवतरण हुदाँ चन्द्रमासँग ठोक्किएर यसले सतहमा ठूलो तरंग ल्याउनसक्ने बताइएको छ ।
अमेरिकाको एसईटीआई इन्स्टिच्युटका वरिष्ठ खगोलशास्त्री डा. फ्राङ्क मर्चिसले यो रकेट चन्द्रमामा खस्दा पृथ्वीबाट मान्छेहरूले आकाशमा केही तरंग देख्नसक्ने बताउँछन् ।
साथै यसले चन्द्रमाको चर्चित अनुहार (पृथ्वीबाट हेर्दा चन्द्रमामा मान्छेको अनुहार जस्तै देखिने भाग) लाई केही असर गर्यो भने यो निकै नै दुःखदायी हुने उनको तर्क छ ।
यद्यपि धेरै विज्ञले चन्द्रमामा ध्वस्त गरिए पनि यसको प्रभाव न्यून रहने धारणा राखेका छन् ।
मिसन सम्पन्न भइसकेर पनि पृथ्वीमा फिर्ता नल्याउँदा अहिलेसम्म यो रकेटले एउटा स्कुल बस जत्तिकै अन्तरिक्षको जंक अर्थात् फोहोर जम्मा गरेको बताइएको छ ।