काठमाडौं । केही समय अघिमात्रै सार्वजनिक भएको ‘सामसङ एस२२ अल्ट्रा’को क्यामेरा ‘आईफोन १३ प्रो म्याक्स’को भन्दा उत्कृष्ट रहेको पाइएको छ ।
मोबाइल क्यामेराको इमेज क्वालिटी अध्ययन गर्दै आएको संस्था भ्यालुड क्यामेरा एक्सपिरियन्स (भीसीएक्स) ले हालै सामसङ एस२२ अल्ट्राको क्यामेरा रेटिङ सार्वजनिक गरेको छ ।
भीसीएक्सका अनुसार क्यामेरामा सामसङ एस२२ अल्ट्राले एक सयमा ६९ अंक प्राप्त गर्दै फाइभ स्टार रेटिङ प्राप्त गरेको छ, जुन आईफोन १३ प्रो म्याक्सको तुलनामा ८ अंकले बढी हो ।
आईफोन १३ प्रो म्याक्सले क्यामेरामा ६१ अंक हासिल गर्दै फाेर स्टार हासिल गरेको थियो ।
रेटिङमा उल्लेख भए अनुसार सामसङ एस२२ अल्ट्राको मुख्य क्यामेराले ७० अंक प्राप्त गरेको छ, जसमा इमेज क्वालिटी अन्तर्गत ७३, भिडिओमा ७० र पर्फमेन्समा ६२ अंक हासिल गरेको छ ।
त्यस्तै सेल्फी क्यामेरातर्फ इमेज क्वालिटीमा सामसङ एस२२ अल्ट्राले ६४ अंक हासिल गरेको छ ।
अर्कोतर्फ आईफोन १३ प्रो म्याक्सको सेल्फी क्यामेराले जम्मा ४९ अंक हासिल गरेको छ भने मुख्य क्यामेरा अन्तर्गत इमेज क्वालिटीमा ६४, भिडिओमा ७३ र पर्फमेन्समा ५७ अंक हासिल गर्दै समग्रमा ६४ अंक हासिल गरेको छ ।
संस्थाले दुवै मोडलका क्यामेराको टेक्स्चर, शार्पनेश, भिजुअल न्वाइज, डाइनामिक रेन्ज, कलर, ह्वाइट ब्यालेन्स, सेडिङ, डिस्टोर्सन लगायतका विषयमा गरेको परीक्षणका आधारमा यो रेटिङ प्रदान गरेको हो ।