close

विन्डोज १० भन्दा कति फरक छ विन्डोज ११ ?

टेकपाना टेकपाना

फागुन १७, २०७८ १७:९

विन्डोज १० भन्दा कति फरक छ विन्डोज ११ ?

काठमाडौं । माइक्रोसफ्ट २०२२ को मध्यसम्ममा सबै उपयुक्त किसिमका कम्प्युटर तथा ल्यापटपमा विन्डोज ११ उपलब्ध गराउने प्रयासमा छ । तपाईंहरू मध्ये कतिले विन्डोज ११ प्रयोग गरिरहनु भएको छ भने धेरैले यसको प्रतीक्षा गरिरहनु भएको छ होला ।

प्रयोग गरिसकेपछि वा प्रयोग गर्नपूर्व आफूले प्रयोग गरिरहेको विन्डोज र बजारमा आएको नयाँ विन्डोजबारे थाहा पाउन एकदमै आवश्यक छ । अथवा भनौँ, तपाईँलाई विन्डोज १० र विन्डोज ११ मा के के भिन्नता छन् भन्नेबारेमा जान्न मन लागिरहेको पनि हुनसक्छ । आज हामी यही विषयमा चर्चा गर्दै छौँ ।

माइक्रोसफ्टले भर्खरै मात्र सार्वजनिक गरेको अपरेटिङ सिस्टममा म्याकको जस्तै सुन्दरता र उत्पादनशील क्षमता बढाउने विशेषताहरू समावेश छन् । विन्डोज ११  कम्प्युटरमा भएको खण्डमा त्यसमा एन्ड्रोइड एपहरू चलाउन सकिन्छ ।

त्यस्तै यसमा अन्य सुधारहरू पनि थपिएका छन् । अब आउनुहोस्, माइक्रोसफ्टले विन्डोज ११ मा केके कुरामा खास परिवर्तन ल्याएको छ भन्ने विषयबारे कुरा गरौँ ।

डिजाइन र इन्टरफेस

विन्डोज ११ मा स्टार्ट मेनु बीचमा राखिएको छ भने त्यसपछि टास्कबार छ । विन्डोज ११ ले अपरेटिङ सिस्टममा नयाँ म्याकजस्तै इन्टरफेस ल्याएको छ । त्यस्तै गोलाकार कर्नर र पेस्टल सेडले डिजाइन आकर्षक बनाइएको छ ।

स्टार्ट मेनुलाई टास्कबारसँगै स्क्रिनको बीचमा सार्न मिल्छ । यदि तपाईंलाई विन्डोज १० कै जस्तो स्टार्ट मेनु बायाँपट्टि राख्न मन छ भने तपाईंले त्यसको सुविधा पनि पाउन सक्नुहुन्छ ।

एन्डोइड एप प्रयोग गर्न मिल्ने

प्रयोगकर्ताले धेरै वर्षअघिबाट आफ्नो कम्प्युटरमा एन्ड्रोइड एपहरू प्रयोग गर्न खोजिरहेका थिए । त्यसैलाई सम्बोधन गर्न माइक्रोसफ्टले माइक्रोसफ्ट स्टोर र अमेजन एप स्टोरको माध्यमबाट विन्डोज ११ मा एन्ड्रोइड एप उपलब्ध गराएको छ ।

कम्प्युटरमा विन्डोज ११ राखेको खण्डमा तपाईँले एन्ड्रोइड एपको मजा कम्प्युटरबाटै लिन सक्नु हुनेछ ।  

पहिलेभन्दा राम्रो भर्चुअल डेस्कटप सपोर्ट

म्याकमा जस्तै विन्डोज ११ ले पनि भर्चुअल डेस्कटप सेटअप गर्न सहज बनाएको छ । यसको माध्यमबाट धेरै डेस्कटपबीच टोगल गर्न सकिन्छ ।

विन्डोज १० मा भर्चुअल डेस्कटप सेटअप र प्रयोग गर्न निकै गाह्रो थियो । यसलाई सहज बनाउन विन्डोज ११ ले यो फिचर ल्याएको हो । 

टास्कबारमा माइक्रोसफ्ट टिम्स

विन्डोस ११ मा भिडिओ कल गर्ने माइक्रोसफ्ट टिम्स प्रयोग गर्नेहरूका लागि यसले माइक्रोसफ्ट टिम्स टाक्सबारमै समावेश गरेको छ । जसले गर्दा कल गर्न विन्डोज १० भन्दा विन्डोज ११ मा अझ सहज हुन्छ ।

आकर्षक विजेट

विन्डोज ११ प्रयोग गर्दा तपाईँले टास्कबार बाटै विजेट एक्सेस गर्न सक्नुहुन्छ । विन्डोज १० को नयाँ अपडेटमा पनि यो फिचर समावेश छ । यसको माध्यमबाट टास्कबारमा गएर मौसम, स्टक, समाचार र अन्य थुप्रै कुराको जानकारी पाउन सकिन्छ। 

टचस्क्रिन, भ्वाइस र पेन सपोर्टलाई प्राथमिकता

माइक्रोसफ्टले ट्याब्लेटमा विन्डोज १० भन्दा विन्डोज ११ चलाउन सहज बनाउने लक्ष्य लिएको छ । माइक्रोसफ्टले ट्याब्लेटका लागि टच एक्सपिरियन्समा सुधार, टास्कबारमा आइकनहरूबीच अलिक बढी दूरी, र केही गेस्चर थप गर्नेछ ।

गेमिङ सुधार्न एक्सबक्स

माइक्रोसफ्टले विन्डोज ११ मा गेमिङ सुधार गर्न एक्सबक्समा पाइने केही फिचरहरू जस्तै अटो एचडीआर र डिरेक्ट स्टोरेज ल्याइएको छ । यसले गेमरहरूलाई निकै सहज बनाएको छ  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३