close

पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै

रन्जन कोइराला रन्जन कोइराला

फागुन १९, २०७८ १४:२

पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै

काठमाडौं । नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी परीक्षणका लागि आवश्यक अध्ययन सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्रै फाइभजी परीक्षण सुरु गर्ने तयारीका साथ कम्पनीले आवश्यक अध्ययन सम्पन्न गरेको हो । 

यसअघि टेलिकमले फोरजी सेवाका लागि चिनियाँ कम्पनी चाइना कम्युनिकेसन्स सर्भिस इन्टरनेसनल (सीसीएसआई) सँग सम्झौता गरेको थियो । सोही सम्झौतामा नयाँ प्रविधि ‘फाइभजी’ समेत देशको केही सहरमा परीक्षण गर्नुपर्ने प्रावधान राखिएको थियो ।

सोही प्रावधानका आधारमा कम्पनीले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण गर्नेगरी भेन्डरसँगको काम अघि बढाएको हो । यसका लागि भेन्डर र टेलिकम दुवैतर्फबाट आवश्यक अध्ययन सम्पन्न भइसकेको टेलिकम स्रोतले जनाएको छ ।

‘अबको एकदुई दिनमै यसको माइन्युट सम्पन्न गरी प्रक्रिया अघि बढाउँदै छौँ,’ टेलिकम स्रोतले भन्यो, ‘लगत्तै सामान आयातको काम अघि बढ्नेछ । त्यसमध्ये कोर अन्तर्गतको सामान चाँडै काठमाडौं आइपुग्नेछ । किन भने कोरतर्फ सफ्टवेयरमात्रै आपूर्ति गरिने हो ।’

र्‍यानको हकमा केही सामान नै ल्याउनुपर्ने भएकाले केही समय लाग्नसक्ने बताइएको छ । तर, त्यसका लागि समेत आवश्यक सम्पूर्ण प्रक्रिया भने पूरा भइसकेको छ ।

कम्पनीको योजना अन्तर्गत अबको दुईतीन महिनाभित्र कोर तथा र्‍यानका सम्पूर्ण सामान काठमाडौं आइसक्नेछन् । त्यसपश्चात् जडान गरी परीक्षणको प्रक्रिया अगाडि बढ्नेछ ।

यस हिसाबले अबको तीनचार महिना अथवा ढिलोमा यो आर्थिक वर्षको अन्त्यसम्म सम्पूर्ण काम सम्पन्न गरी परिक्षण सुरु गर्ने तयारी रहेको टेलिकमका एक उच्च अधिकारीले जानकारी दिए । यसअघि सरकारले टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

सोही अनुरूप दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण गरी टेलिकमलाई उपलब्ध गराइसकेको छ । जसमा टेलिकमले २६०० मेगाहर्ज ब्याण्ड अन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी पाएको छ ।

हुन त टेलिकमले फाइभजी परीक्षणको व्यवसायिक प्रस्ताव प्राधिकरणलाई पठाउँदा २६०० सय मेगाहर्ज ब्याण्डमा १०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग अघि सारेको थियो । तर, नियामकले भने ६० मेगाहर्ज मात्रै फ्रिक्वेन्सी टेलिकमलाई उपलब्ध गराएको छ ।

सोही फ्रिक्वेन्सीमा आधारित भएर अब टेलिकमले नेपालमा फाइभजीको परीक्षण गर्नेछ । फाइभजी परीक्षणको सुरुवात काठमाडौंबाट हुने स्रोतले जनाएको छ ।

‘हामीले पहिलो चरणमा काठमाडौंबाट यसको परीक्षण गर्ने योजना बनाएका छौँ,’ स्रोतले टेकपानासँग भन्यो, ‘दोस्रो चरणमा पोखरा र तेस्रो चरणमा देशको कुनै ग्रामीण भेगमा यसको परीक्षण हुनेछ ।’

उक्त परीक्षणबाट आएको परिणामको आधारमा टेलिकमले आगामी दिनमा फाइभजीको व्यवसायिक परियोजना अघि बढाउने छ ।

कम्पनीले यसरी फाइभजीको परीक्षणका लागि प्रक्रिया अघि बढाउँदै गर्दा अर्को ठूलो मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले भने हालसम्म परीक्षणका लागि अनुमति नै पाउन सकेको छैन । यद्यपि उसले पनि परीक्षणको अनुमतिका लागि सरकार समक्ष आवेदन भने दिइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२