close

गाडीमा प्रयोग हुने ‘एन्टी लक ब्रेकिङ सिस्टम’ प्रविधि के हो र यसले कसरी काम गर्छ ?

टेकपाना टेकपाना

फागुन १९, २०७८ १३:२३

गाडीमा प्रयोग हुने ‘एन्टी लक ब्रेकिङ सिस्टम’ प्रविधि के हो र यसले कसरी काम गर्छ ?

काठमाडौं । नेपालमा पनि पछिल्लो समय विद्युतीय कार प्रतिको आकर्षण बढ्दै गएको छ । महँगिँदै गएको पेट्रोलियम पदार्थमा हुने खर्च जोगाउन, कर छुट, बढ्दो ब्याट्री रेन्ज आदिका कारणले गर्दा अहिले पेट्रोल र डिजेलबाट चल्ने कारको विकल्पमा विद्युतीय कार  लोकप्रिय बन्दै गएका हुन् ।

अहिले सार्वजनिक हुने धेरै जसो विद्युतीय कारको भित्री तथा बाहिरी भागमा जडान हुने सामान्यदेखि आधुनिक फिचर पनि धेरैका लागि चासोको विषय बन्दै गइरहेका छन् । पार्किङमा सघाउने क्यामेरा, हाइ रेजोलुसन सहितको बहुउपयोगी डिस्प्ले, टचस्क्रिन, अटोमेटिक वाइपर, लाइट आदि त अब सामान्य फिचर भइगए ।

यस्ता फिचरले सवारी पार्क गर्नेदेखि अन्य दुर्घटनाका जोखिमलाई न्यूनीकरण गर्न समेत सहयोग गर्दछन् । आज हामी तपाईँलाई कारहरूमा समावेश हुने एउटा यस्तो प्रविधिको बारेमा बताउँदै छौँ, जसले निकै द्रुत गतिमा गुडिरहेको कारमा अचानक ब्रेक लगाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई टार्न सक्छ ।

तीव्र गतिमा गुडिरहेको गाडीमा अचानक ब्रेक लगाउनु वा कुनै अप्ठ्यारो बाटोमा गाडी रोक्नु आफैँमा एउटा चुनौतीपूर्ण काम हो । तपाईँ जतिसुकै कुशल चालक भए पनि अप्ठ्यारो बाटोमा ब्रेक लगाउँदा गाडीका पाङ्ग्राहरू जाम अर्थात अडिन पुग्छन् ।

जसले गर्दा सवारी चालकलाई गाडीको गति नियन्त्रण गर्न मुस्किल पर्छ र त्यसको परिणाम स्वरूप गाडी नियन्त्रण बाहिर जानसक्छ । यस किसिमको जोखिमपूर्ण अवस्थाबाट जोगाउनका लागि ‘एन्टी-लक ब्रेकिङ सिस्टम’ नामक प्रविधि विकास भएको छ । ‘एन्टी-लक ब्रेकिंग सिस्टम’लाई ‘एन्टी-स्पिड ब्रेकिङ सिस्टम’ पनि भन्ने गरिन्छ ।

गाडीमा अचानक ब्रेक लगाउनु परेको खण्डमा टायर र सडकको सतहबीच हुने घर्षणले टायर चिप्लिएर तत्काल दुर्घटना हुने सम्भावना रहन्छ । यस किसिमको अनियन्त्रित अवस्थामा गाडी निरन्तर गतिमा रहन्छ र चालकले गाडीको स्टेरिङमाथिको आफ्नो नियन्त्रण पनि गुमाउन सक्छ । यसले गर्दा दुर्घटनाको सम्भावना धेरै हुन्छ ।

यस्तो अवस्थामा ‘एन्टी-लक ब्रेकिङ सिस्टम’ (ABS) वा ‘एन्टी-स्पीड ब्रेकिङ सिस्टम’ले गाडीमा अपर्झट ब्रेक लगाउँदा टायरहरू लक हुनबाट जोगाउँछ । विद्युतीय कारका प्रत्येक पाङ्ग्रामा जडान भएको स्पिड सेन्सरले स्पिड ट्रयाक गरी त्यसको जानकारी ‘इलेक्ट्रोनिक कन्ट्रोल युनिट’ (ईसीयू) मा पठाउँछ ।

स्पिड सेन्सरले पाङ्ग्राको गति पत्ता लगाइसकेपछि यदि कुनै पाङ्ग्राको गति अर्को टायरको तुलनामा कम छ भने ईसीयूले ब्रेक प्रेसर कम गर्न सम्बन्धित पाङ्ग्राको भल्भमा सिग्नल पठाउँछ र त्यसै आधारमा भल्भहरू बन्द हुन पुग्छन् । त्यसपछि गाडी आफ्नो गतिमा चल्न थालेपछि ईसीयूले पाङ्ग्राको गतिको पुन: ट्रयाक गर्न थाल्दछ ।

जसले गर्दा अगाडि बन्द भएको भल्भ खुल्छ र ब्रेकमा दवाब बढाउनका लागि ईसीयूमा संकेत पठाउँछ । पछिल्लो समय बजारमा आउने प्रायः जसो कारमा यो प्रविधि प्रयोग गरिएको छ ।

‘इन्स्योरेन्स इन्स्टिच्युट फर हाईवे सेफ्टी’ (आईआईएचएस) नामक संस्थाले ‘एन्टी लक ब्रेकिङ सिस्टम’ जडान गरिएका कारहरू कत्तिको दुर्घटनामा परेका छन् भन्ने विषयमा एउटा अध्ययन गरेको थियो । जसअनुसार यस्तो प्रविधि जडान भएका सवारी साधनहरू अन्य सवारीसाधनको तुलनामा जोखिमपूर्ण दुर्घटनामा कमै पर्ने गरेको पाइएको छ ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२