close

आखिर किन बन्द भयो युट्युव भ्यान्स्ड ?

टेकपाना टेकपाना

चैत ६, २०७८ १८:१९

आखिर किन बन्द भयो युट्युव भ्यान्स्ड ?

काठमाडौं । युट्युव प्रयोगकर्ताले विना विज्ञापन भिडिओ हेर्न मिल्ने एप ‘युट्युव भ्यान्स्ड’ बन्द भएको छ । अब नयाँ प्रयोगकर्ताले यो एप डाउनलोड गर्न पाउने छैनन् भने हाल प्रयोग भइरहेको एप सम्भवतः दुई वर्षसम्म चल्नेछ ।

युट्युवका गीत बिना कुनै अवरोध सुन्न उपयुक्त थर्ड पार्टी एपको रुपमा भ्यान्स्ड धेरै प्रयोगकर्तामाझ लोकप्रिय थियो । एप बन्द हुने भएपछि एपसँग जोडिएर धेरै हल्ला बजारमा चलिरहेका छन् ।

सामाजिक सञ्जालमार्फत यसका प्रयोगकर्ताले यो विषयमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् । यसबीच एनएफटी सम्बन्धी कारोबार गरेका कारण गुगलले यो एप बन्द गर्न लगाएको चर्चा पनि चलेको थियो ।

यति मात्र होइन, भ्यान्स्ड पाइरेटेड एप भएको, डेभलपरहरू रुसमा बसेको, गैरकानूनी फिचरहरू प्रदान गरेको लगायत विविध कारण एप बन्द हुन लागेको चर्चा बजारमा चलिरहेको छ ।

यद्यपि भ्यान्स्डको डेभलपर टिमले एक विज्ञप्ति जारी गर्दै उल्लेखित सबै चर्चा झुटो भएको दाबी गरेको छ ।

डेभलपर टिमका अनुसार भ्यान्स्डको लोगो युट्युवको जस्तै भएको र यसका लागि डेभलपरहरूले अनुमति नलिएका कारण गुगलले भ्यान्स्ड बन्द गर्न आग्रह गरेको थियो ।

कानूनी रुपमा आएको उक्त आग्रहलाई पछ्याउँदै एप बन्द गरेको र यसमा अन्य कुनै पनि कारण नभएको डेभलपर टिमको भनाइ छ ।

सन् २०१७ मा सुरु भएको भ्यान्स्डले युट्युवमा नभएका केही थप फिचरसमेत दिएकाे थियाे ।

निःशुल्क प्रयोग गर्न मिल्ने यो एपले हालै मात्र आफ्नो रिब्रान्डिङ गरेर भ्यान्स्ड बाट एपको नाम युट्युव भ्यान्स्ड राखेको थियो ।

गुगलको कारबाहीमा पर्ने भ्यान्स्ड मात्र पहिलो एप होइन । यो भन्दा अगाडि पनि धेरै एपलाई गुगलले आफ्नो सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

अब आउने दिनमा भ्यान्स्डको सेवा नफर्कने पनि डेभलपर टिमले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३