मेसेज प्रकरणमा बोले चापागाईं, भन्छन्- ‘म संलग्न छैन, सोसल मिडिया म्यानेजरबाट दुरुपयोग भएको हुनसक्छ’
असार १३, २०८३ २३:१०
काठमाडौं । सामाजिक सञ्जालमा लिक भएका इन्स्टाग्रामका ‘निजी मेसेज’ का कारण विवादमा तानिएका गायक सुजन चापागाईंले उक्त प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । अष्ट्रेलियाको सांगीतिक भ्रमणमा रहेका चापागाईंले फेसबुकमा एक स्पष्टीकरण लेख्दै भाइरल सामग्रीहरूमा आफ्नो संलग्नता नभएको जिकिर गरेका छन् ।
गायक चापागाईंले आफ्नो कार्यव्यस्तताका कारण सामाजिक सञ्जाल एक्लैले ह्याण्डल गर्न सम्भव नभएको उल्लेख गर्दै विभिन्न कालखण्डमा नियुक्त गरिएका सोसल मिडिया म्यानेजरहरूबाट कतै दुरुपयोग भयो कि भन्ने अनुमान व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “मेरो सोसल मिडिया मैले मात्र ह्याण्डल गर्न सम्भव नभएको हुँदा विभिन्न कालखण्डमा सोसल मिडिया म्यानेजरहरूले म्यानेज गर्ने गरेको र सोही समयमा कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ ।”
चापागाईंले आफ्नो नाममा धेरै फेक अकाउन्टहरू सक्रिय रहेको र तीमार्फत अनैतिक गतिविधि भइरहेको जानकारी पनि पाएको बताएका छन् । यस्ता गतिविधिलाई अनैतिक र अनुत्तरदायी हर्कत भन्दै उनले आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको बताएका छन् ।
विगतमा आफूले नजिक ठानेका साथीहरूसँग भएका केही कुराकानीलाई स्वीकार गर्दै उनले माफी मागे पनि सामाजिक सञ्जालमा आएका सबै सामग्रीप्रति आफू अनभिज्ञ रहेको दाबी गरेका छन्- “विगतमा मसँग नजिक सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य हो । जसबाट उत्पन्न भएको दुःखद परिस्थितिको निम्ति म अन्तरहृदयदेखि नै माफी माग्न चाहन्छु । तर जे-जति सामग्रीहरू सोसल मिडियामा आएका छन्, ती सबैप्रति भने म अनभिज्ञ छु ।
नेपाल फर्किएलगत्तै उनले यस विषयमा कानुनी उपचार खोज्ने बताएका छन् । “मेरो अष्ट्रेलिया सांगीतिक यात्रा सकिए लगत्तै नेपाल गएर कानुनी उपचारमा जानेछु,” उनले लेखेका छन् ।
केही दिनयता विभिन्न महिला-किशोरीहरूले गायक सुजन चापागाईंको नामबाट आएको भन्दै आपत्तिजनक तथा अश्लील मेसेजका स्क्रिनशटहरू सार्वजनिक गरेका छन् । यी मेसेजमा यौनिक संकेतपूर्ण कुराकानी र अनुपयुक्त प्रस्ताव राखेको देख्न सकिन्छ । केही स्क्रिनशटमा ‘Vanish Mode’ प्रयोग गरेको देखिन्छ, जसले प्रमाण लुकाउन खोजेको जस्तो आभास दिन्छ ।

पछिल्लो अध्यावधिक: असार १३, २०८३ २३:२९
