close

४५ मिनेटमै फुल चार्ज हुने बिवाईडीको नयाँ विद्युतीय कार नेपाल आउँदै

टेकपाना टेकपाना

चैत १३, २०७८ १५:१२

४५ मिनेटमै फुल चार्ज हुने बिवाईडीको नयाँ विद्युतीय कार नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा बिवाईडीको नयाँ विद्युतीय कार ‘एटो थ्री’ (Atto 3) भित्रिने भएको छ । पछिल्लो समय विद्युतीय कार ईसिक्स सेकेन्ड जेनेरेसनको बिक्री सुरुवात गरेको बिवाईडीले नेपाली बजारमा पनि नयाँ मोडलको कार ल्याउन लागेको हो ।

नेपालका लागि बिवाईडीको आधिकारिक बिक्रेता सिमेक्स इंक प्रालिले यो कार नेपाल भित्र्याउने छ । सिमेक्स इंकका बजार प्रबन्धक समिर श्रेष्ठले आउँदो मे महिनामा नेपाली बजारमा यो कार ल्याउने जानकारी दिए ।

आकर्षक डिजाइनमा आउने यो कारको भित्री भागमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवै मिल्ने १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ ।

त्यस्तै ५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर सहित सिन्थेटिक लेदर अफहोलस्टेरेड सिट, इलेक्ट्रिक पावर असिस्टेड स्टेरिङ ह्वील जस्ता फिचर उपलब्ध छन् ।

५०.१ किलोवाट आवर र ६०.४ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुने कारले अधिकतम २०० एचपी पावर उत्पादन गर्ने जनाइएकाे छ ।

८० किलोवाटको फास्ट चार्जरबाट ४५ मिनेटमै फुल चार्ज हुने दावी गरिएकाे यो कारले अधिकतम ३२० देखि ४२० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।

एटो थ्री कारमा ३६० भ्यु क्यामेरा, १२ भोल्ट सकेट, वायरलेस फोन चार्जर, विना चाबी गाडी सञ्चालन हुने र भित्र जान मिल्ने (keyless start and keyless entry) र एक पटक बटन थिचेकै भरमा गाडीको पछाडिको ढोका खुल्ने (one touch open/touch tailgate) लगायतका फिचर पनि उपलब्ध छन् ।

छ फरक तरिकाबाट समायोजन गर्न मिल्ने पाँचवटा सिट क्षमता सहितको यो कारमा १७५ एमएम ग्राउण्ड क्लियरेन्स दिइएको छ ।

त्यस्तै, सिट बेल्टको प्रयोग गर्न अलर्ट गर्ने (सिट बेल्ट रिमाइडर), हिल-डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, टायरहरूमा सही प्रेसर छ कि छैन भनि जाचँ गर्ने एउटा विद्युतीय प्रविधि (टायर प्रेसर मनिटरिङ सिस्टम), ईपीएस सहितको एन्टी-लक ब्रेकिङ सिस्टम जस्ता सुरक्षाका फिचर पनि उपलब्ध छन् । 

कम्पनीले नेपाली बजारमा यसको मूल्यबारे भने केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२