close

नेपालमा सामाजिक सञ्जालको स्थानीय कार्यालय नहुँदा समस्या

टेकपाना टेकपाना

चैत १४, २०७८ १४:४३

नेपालमा सामाजिक सञ्जालको स्थानीय कार्यालय नहुँदा समस्या

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल तथा ईमेल सेवा प्रदायकको स्थानीय कार्यालन नहुँदा घटना अनुसन्धानमा चुनौती देखिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढ्दै जाँदा अपराधका घटना पनि बढेका छन् ।

तर वास्तविक समयमै घटनाको विश्लेषण तथा अनुसन्धान हुन नसक्दा पीडितले न्याय पाउन सकेका छैनन् । अहिले नेपाल प्रहरीको साइबर ब्यूरोमा दिनहुँ दर्जनौं निवेदन पर्ने गरेको छ ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार धेरैजसो सामाजिक सञ्जालमार्फत चरित्रहत्या, धम्की, आपत्तिजनक सामग्री र अन्य दुर्व्यवहारका घटनाको निवेदन आउने गरेको छ ।

अझ पछिल्लो समयमा त फेसुबक, भाइबर, ह्वाट्सएप, इमो लगायतका सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने घटना पनि बढेका छन् ।

तर यस्ता माध्यमबाट हुने घटनाको अनुसन्धानका लागि विभिन्न अप्ठ्यारा रहेको अर्यालले सुनाए ।

‘नेपालमा सञ्चालित जतिपनि सामाजिक सञ्जाल र ईमेल सेवाप्रदायक छन्, उनीहरूको कार्यालय नेपालमा नहुँदा विभिन्न समस्या भइरहेको छ,’ उनले भने, ‘हामीले यहाँबाट पत्र पठाउँदा समयमा जवाफ नआउने भएका कारण म्याद गुज्रिने र पीडित पीडित नै रहनुपर्ने बाध्यता छ ।’

यद्यपि नेपाल प्रहरीको आफ्नै संयन्त्रबाट घटनाउपर अनुसन्धान भई धेरै मुद्दा दर्ता भएको पनि उनले जानकारी दिए ।

‘विद्युतीय अपराधको सन्दर्भमा यदि सामाजिक सञ्जाल र ईमेल सेवा प्रदायकको लोकल वा कर्पोरेट अफिस नेपालमा हुने हो भने नेपाल प्रहरीले रियल टाइममा घटनाको विश्लेषण र अनुसन्धान गुर्नसक्छ, र पीडितलाई समयमै न्याय दिलाउन सकिन्छ,’ उनले अगाडि भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२