close

एकीकृत आईसीटी नीतिका लागि मस्यौदा बनाउन पहिलो चरणमा छानिए ४ कम्पनी

टेकपाना टेकपाना

चैत १४, २०७८ १३:२८

एकीकृत आईसीटी नीतिका लागि मस्यौदा बनाउन पहिलो चरणमा छानिए ४ कम्पनी

काठमाडौं । सरकारले ब्रोडब्याण्ड नीति, दूरसञ्चार नीति र आईसीटी नीतिलाई गाभेर एकीकृत आईसीटी नीति बनाउने भएको छ । त्यसका लागि मस्यौदा बनाउन पहिलो चरणमा चार कम्पनी छनोट भएका छन् ।

यसअघि प्राधिकरणले पुस १८ गते आइतबार सार्वजनिक सूचना जारी गर्दै नीतिको मस्यौदा तयार पार्न परामर्शदाता माग गरेको थियो । माग भएअनुसार आएका प्रस्तावमध्ये पहिलो चरणमा प्राधिकरणले चार कम्पनीको सूची सार्वजनिक गरेको हो ।

पहिलो चरणमा छनोट हुने कम्पनीमा ग्रिन टिक नेपाल, उपदेभ टेक्नोलोजी प्रालि, इन्क्लुसिभ एभरेस्ट जेभी र महारुद्र ग्रुप प्रालि रहेका छन् ।

पहिलो चरणमा छनोट भएका यी कम्पनी मध्येबाट आएको आर्थिक र प्राविधिक प्रस्तावको अध्ययन पश्चात अन्त्तिम चरणमा एउटा कम्पनी छनोट गरिनेछ ।

छनोट भएको उक्त कम्पनीले एकीकृत आईसीटी नीति मस्यौदा तयार पार्ने तथा आवश्यक राय सुझाव दिनेसम्मको काम गर्नेछ । लामो समयदेखि दूरसञ्चार क्षेत्रको मुख्य नीति दूरसञ्चार नीति २०६०, ब्रोडब्याण्ड नीति २०७१ र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ परिमार्जन हुन सकेको छैन् ।

लामो समयदेखि परिमाजर्नको पर्खाइमा रहेको नीतिलाई पुनः रुप प्रदान गर्ने र सबैलाई एउटै नीतिमा गाभ्ने योजनाका साथ प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो ।

हुन त यसका लागि यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टर्म अफ रिफ्रेन्स (क्षेत्राधिकार) स्वीकृत गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई मस्यौदा तयार गर्न निर्देशन दिएको थियो । त्यसैका आधारमा प्राधिकरणले राष्ट्रिय आईसीटी नीतिको मस्यौदा तयार पार्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२