close

वेबसाइट डिजाइनिङ सिक्न चाहनेका लागि निःशुल्क अनलाइन तालिम हुँदै

टेकपाना टेकपाना

चैत १५, २०७८ १७:४९

वेबसाइट डिजाइनिङ सिक्न चाहनेका लागि निःशुल्क अनलाइन तालिम हुँदै

काठमाडौं ।  वेब डिजाइनिङ सिक्न चाहनेका लागि एक महिनासम्म निःशुल्क अनलाइन तालिम हुने भएकाे छ । युवा डेभलपर सरोज दाहालले प्रशिक्षण दिने याे तालिम आउँदो वैशाख १८ (मे १) गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ ।

दाहालका अनुसार वेब डिजाइनिङमा उपयाेगी हुने गरी ‘नोड.जेएस’ विषयमा तालिम हुनेछ । नोड.जेएस वेबसाइट डिजाइनिङको एक महत्वपूर्ण पक्ष हो, जसको माध्यमबाट विद्यार्थीले आवश्यक वेब डिजाइनिङका लागि सीप सिक्न सक्छन् ।

यसलाई विशेषगरी आईटी क्षेत्रका विद्यार्थी र त्यसतर्फ रूचि राख्ने सम्पूर्ण विद्यार्थीले सहजै सिक्न सक्नेछन् ।

नोड.जेएसको क्लास एक महिनाभर गुगल मीट वा टिम्सबाट सञ्चालन हुनेछ भने सो क्लासका सहभागीमध्ये दुई जनाले डटकम डोमेन पाउने छन् । र, बाँकीले एउटा कुपन पाउँछन्, जसको माध्यमबाट ७०० रुपैयाँमा डोमेन किन्न सकिन्छ ।

सात वर्ष बढी प्रोग्रामिङको क्षेत्रमा काम गरिसकेका दाहालले आफूले सिकेको सीप अन्य व्यक्तिलाई सिकाउन सकियोस् भन्ने योजनाले निःशुल्क अनलाइन तालिम गर्न लागेकाे जानकारी दिए ।

‘मैले प्रोग्रामिङको क्षेत्रमा काम गर्दा बटुलेका महत्त्वपूर्ण सीप अरू कोहीले थोरै समयमा सिकुन् भन्ने चाहना छ’ उनले भने, ‘मैले गरेको सानो कामले कसैलाई आत्मनिर्भर बनाउन सक्छ वा कुनै राम्रो कम्पनीमा काम गर्न पाउँछ भने त्यो नै मेरा लागि ठूलो कुरा हो ।’

यसअघि पनि दाहालले प्रोग्रामिङको एउटा सेसन सम्पन्न गरिसकेका छन् । त्यसबाट अनुभव बटुलेर पुनः नोड.जेएसको क्लास सञ्चालन गर्ने आँट गरेकाे उनले सुनाए ।

यो सेसन सकिसकेपछि मोबाइल एप डेभलपमेन्टको क्लास सुरु गर्ने उनकाे योजना छ ।

निःशुल्क ‘नोड.जेएस’ अनलाइन तालिममा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३