परीक्षार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति विद्यार्थी संगठनहरूको आपत्ति, सीडीओलाई ज्ञापनपत्र।
जेठ २५, २०८३ २२:४१
काठमाडौं । सिरहा जिल्लाका विभिन्न परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ का परीक्षार्थीबाट जफत गरिएका मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको घटनाप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाहीको माग गर्दै सोमबार उनीहरूले सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेल लाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु, नेपाली कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी), विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी युनियन नेपाल र स्ववियु सभापतिको संयुक्त पहलमा ज्ञापनपत्र बुझाइएको हो । कार्यालय बाहिर प्रदर्शन गर्दै हस्तान्तरण गरिएको उक्त ज्ञापनपत्रमा प्रशासनको उपस्थितिमा परीक्षार्थीको निजी सम्पत्ति नष्ट गरिनु गैरसंवैधानिक र अलोकतान्त्रिक कार्य भएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा भनिएको छ, “एउटा अभिभावकले दिनरात पसिना बगाएर, ऋण काढेर वा आफ्नो आवश्यकतामाथि सम्झौता गरेर आफ्नो सन्तानका लागि खरिद गरेको मोबाइल फोन कुनै न्यायिक प्रक्रिया, कानुनी आदेश वा प्रचलित कानुनको आधारबिना नष्ट गरिनु केवल सम्पत्तिको क्षति मात्र होइन, नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप हो ।”

विद्यार्थी संगठनले नेपालको संविधान २०७२ को धारा २५ ले प्रत्येक नागरिकको सम्पत्तिको हक सुनिश्चित गरेको स्मरण गराउँदै कानुनी प्रक्रिया पूरा नगरी कसैको पनि निजी सम्पत्ति जफत वा नष्ट गर्न नपाइने संवैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन् । उनीहरूले आफूहरू परीक्षामा हुने चोरी वा अनियमितताको पक्षमा नरहेको स्पष्ट पार्दै परीक्षा मर्यादा विपरीत कार्य गर्ने विद्यार्थीमाथि शिक्षा ऐन र राष्ट्रिय परीक्षा बोर्डको नियमअनुसार परीक्षा रद्द गर्ने वा निष्कासन गर्ने कानुनी प्रावधान भए तापनि कसैको निजी सम्पत्ति नष्ट गर्ने अधिकार प्रचलित कानुनले कतै पनि नदिएको स्पष्ट पारेका छन् ।
ज्ञापनपत्रमा लेखिएको छ, “हामी पुनः स्पष्ट गर्न चाहन्छौँ कि, हामी परीक्षा चोरीको पक्षमा छैनौँ । हामी अनियमितताको पक्षमा छैनौँ । हामी विधि, कानुन, न्याय र जवाफदेहिताको पक्षमा छौँ ।”
यस घटनाका सन्दर्भमा विद्यार्थी संगठनले परीक्षा केन्द्रको सुरक्षा र व्यवस्थापनमाथि पनि गम्भीर प्रश्नहरू उठाएका छन् । उनीहरूले मोबाइल फोन परीक्षा केन्द्रभित्र कसरी पुग्यो, प्रवेशद्वारमा सुरक्षा जाँच किन प्रभावकारी भएन र निषेधित वस्तु प्रवेशद्वारमै रोक्न नसक्नुमा केन्द्राध्यक्ष, निरीक्षक तथा सुरक्षाकर्मीको जिम्मेवारी किन निर्धारण गरिएन भनी प्रश्न गरेका छन् । यसका साथै मोबाइल नष्ट गर्ने अधिकार कुन कानुनले दियो र विद्यार्थीमाथि मात्र कठोरता अपनाएर प्रशासनिक कमजोरीमाथि किन मौनता साधिँदै छ भन्ने विषयमा पनि उनीहरूले चासो व्यक्त गरेका छन् ।



यी समस्या समाधानका लागि संयुक्त विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारी समक्ष विभिन्न माग प्रस्तुत गरेका छन् । उनीहरूले मोबाइल फोन नष्ट गरिएको घटनाको निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने तथा विद्यार्थीको निजी सम्पत्ति नष्ट गर्ने निर्णय र कार्यमा संलग्न व्यक्ति वा निकायमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने माग राखेका छन् ।
यसका साथै पीडित विद्यार्थी तथा अभिभावकलाई मोबाइल फोनको बजार मूल्यअनुसार उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । साथै परीक्षा केन्द्रभित्र मोबाइल प्रवेश हुन दिनुमा जिम्मेवार केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी तथा सम्बन्धित प्रशासनिक अधिकारीहरूमाथि आवश्यक कारबाही गरी प्रशासनिक संयन्त्रमाथि पनि समान रूपमा कानुनी जवाफदेहिताकायम गरिनुपर्ने पनि उनीहरूको माग छ । विद्यार्थी तथा अभिभावकको संवैधानिक अधिकार, सम्पत्ति अधिकार र मानवीय गरिमाको सम्मान हुने वातावरण सुनिश्चित गर्न समेत ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।
यदि यी मागहरू तत्काल सम्बोधन नगरिए देशव्यापी रूपमा शान्तिपूर्ण तथा सशक्त आन्दोलन, धर्ना, विरोध प्रदर्शन, हस्ताक्षर अभियान, रिले अनशन र कानुनी लडाइँ जस्ता संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी विद्यार्थी संगठनले दिएका छन् ।
ज्ञापनपत्रमा अगाडि भनिएको छ, “राज्यको शक्ति नागरिकको अधिकार संरक्षण गर्नका लागि हो, अधिकार हनन गर्नका लागि होइन ।” प्रदर्शनमा सहभागी एक विद्यार्थी नेताका अनुसार सीडीओ सुरेन्द्र पौडल विद्यार्थीको माग पूरा गर्नेमा सकारात्मक छैनन् । “उहाँले विद्यार्थीलाई हामीले दण्डनीय सजाय नगरी न्यायिक बाटो हेरेका हौं भन्नुहुन्छ,” ती विद्यार्थी नेताले भने, “माग पुरा नहुने देखिएपछि हामीले प्रदर्शन स्थगित नगर्ने निष्कर्षमा पुग्यौं । हाम्रो प्रदर्शन जारी छ ।”
पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ २२:५१
