काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीको नाफा ७६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले हालै सन् २०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि भएको बताएको छ ।
ह्वावेकी चिफ फाइनान्सियल अफिसर (सीएफओ) मेङ वान्झाउ कम्पनीमा फर्किएसँगै कम्पनीले यो खालको उपलब्धि हासिल गर्न सफल भएको हो । वान्झाउ त्यसअघि क्यानडामा ३ वर्षसम्म नजरबन्दमा थिइन् ।
अघिल्लो वर्षमात्र देश फर्किएकी उनी त्यसपश्चात आफ्नो भूमिकामा पुनः उत्रिएकी थिइन् । त्योसँगै कम्पनीले हालसम्मकै धेरै नाफा कमाउन सफल भएको जनाइएको छ ।
कम्पनीको नाफा बढेर ११३.७ बिलियन युआन अर्थात १७.८ बिलियन अमेरिकी डलर भएको छ । अमेरिकाले लगाएको प्रतिबन्धका कारण सन् २०२० मा कम्पनीले जम्मा ३.२ प्रतिशतमात्रै वृद्धि हासिल गर्न सफल भएको थियो ।
तर, एक वर्षको अवधिमा कम्पनीले ठूलो नाफा कमाउन सफल भएको हो । नाफामा वृद्धि भएपनि कम्पनीको आम्दानीमा भने २९ प्रतिशतले कमी भएको आएको छ ।
‘कम्पनीको आम्दानी कम भएता पनि हामी नाफा आजर्न गर्न सफल भएका छौं,’ कम्पनीका सीएफओ वान्झाउले भनिन्, ‘यसले हामीलाई आगामी दिनमा लगानी थप गर्न र आउनसक्ने चुनौतीसँग लड्न मद्दत पुग्नेछ ।’