close

भारतको सर्वम् एआईको प्रस्तावः ‘संवाद’सँगै एआई इन्जिनियर तयार पार्न ट्रेनिङ सामग्री निःशुल्क दिने

टेकपाना टेकपाना

जेठ २९, २०८३ २२:९

भारतको सर्वम् एआईको प्रस्तावः ‘संवाद’सँगै एआई इन्जिनियर तयार पार्न ट्रेनिङ सामग्री निःशुल्क दिने

काठमाडौं । सर्वम् एआई (Sarvam AI) का सह-संस्थापक एवं सीईओ डा. प्रत्यूष कुमारले नेपाल-भारत दुवै देशले सोभरेन एआई अर्थात् आफ्नै सार्वभौम एआई क्षमता विकास गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मुख्य वक्ता रहेका उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमका दौरान उनले एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको खोजी विषयमा प्रवचन समेत दिएका थिए । उनले एआई क्रान्तिलाई स्टिम इन्जिनको आविष्कारसँग तुलना गर्दै भने, "हामी यस्तो मोडमा छौँ, जहाँ एआईले विश्वको भू-राजनीतिक सीमा र सामाजिक संरचनालाई पुन: परिभाषित गर्नेछ ।"

उनका अनुसार एआई अब अनुसन्धानको विषय मात्र नभई, यो स्केलिङको चरणमा पुगिसकेको छ - जहाँ जति धेरै डेटा र कम्प्युटिङ पावर थप्यो, त्यति नै धेरै बौद्धिकता प्राप्त हुन्छ । उनले इन्डिया एआई मिसनको उदाहरण दिँदै सुरक्षा र रणनीतिक स्वायत्तताका लागि डेटा र ट्रेनिङ आफ्नै देशमा हुनुपर्ने (Sovereignty) तर्क गरे ।

एआईले कसरी ठुलो स्तरमा काम गर्न सक्छ भन्ने उदाहरण दिँदै प्रत्यूषले सर्वम्‌को संवाद (Samvad) भ्वाइस बटको चर्चा गरे । उनका अनुसार भारतको कृषि मन्त्रालयसँग मिलेर कम्पनीले एकै हप्तामा ३.५ करोड किसानलाई फोन गरी बालीको अवस्थाबारे तथ्याङ्क सङ्कलन गरेको थियो ।

"कुनै पनि सरकारले करोडौँ मानिसलाई म्यानुअल फोन गर्न सक्दैन । तर एआईमार्फत हामीले प्रति मिनेट १ भारुभन्दा कम लागतमा यो काम सम्पन्न गर्‍यौँ," उनले भने । यस्तै बीमा नवीकरणका लागि ४.५ करोड नागरिकसम्म पुग्न एआई बट प्रयोग गरिएको विषय समेत उनले उल्लेख गरे ।

प्रत्यूष कुमारले यो प्रविधि नेपालमा ल्याउन आफूहरू तयार रहेको र नेपालले एप्लिकेसन लेयरमा काम गरेर तुरुन्तै फाइदा लिन सक्ने बताए ।

'सर्वम फर्वार्ड' कार्यक्रममा नेपालीहरूलाई मौका

प्रत्यूषले अर्को महिना भारतमा सर्वम् फर्वार्ड कार्यक्रम सार्वजनिक गर्ने र त्यस अन्तर्गत १० लाख एआई इन्जिनियर तयार पार्ने लक्ष्य रहेको बताएका छन् । उनले यो कार्यक्रम नेपालमा ल्याउन आफूहरू इच्छुक रहेको र यसका लागि आवश्यक ट्रेनिङ सामग्रीहरू समेत नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । यसबाट त्यस्ता विशेषज्ञ तयार हुनेछन्, जसले कृषि वा उत्पादन जस्ता आफ्नै क्षेत्र बुझेका हुन्छन् र त्यसमा एआई प्रयोग गरेर समाधान निकाल्न सक्छन् ।

"हामी नेपालका लागि हाम्रा ट्रेनिङ सामग्रीहरू नि:शुल्क उपलब्ध गराउन तयार छौँ," प्रत्यूषले भने, "जग परिवर्तन भइरहेको छ, हामीले एआईको माथि बसेर काम गर्न सक्ने जनशक्ति तयार गर्नुपर्छ ।"

उनले विदेशी मोडेलमा मात्र भर पर्दा भू-राजनीतिक तनावका बेला सेवा रोकिन सक्ने जोखिम औँल्याउँदै नेपालको आफ्नै एआई क्षमता हुनुपर्नेमा जोड दिए । एआईले खपत गर्ने अत्यधिक ऊर्जा र पानीको विषयमा उनले भने, "पहिले प्रविधि निर्माण गरिन्छ, त्यसपछि त्यसलाई अप्टिमाइज गरिन्छ । सुरुमै धेरै बन्देज लगाउनुभन्दा निर्माण र सुधारलाई सँगै लैजानुपर्छ ।"

एआईलाई उनले 'डिप टेक' हतियारको संज्ञा दिए । "यसका लागि नीति मात्र बनाएर पुग्दैन, अट्याक र डिफेन्स दुवै क्षमता चाहिन्छ । एआईले पत्ता लगाउने सफ्टवेयरका कमजोरीहरूलाई सेकेन्डमै प्याच गर्न सक्ने प्रणाली बनाउनुपर्छ,” उनले भने । 

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८३ २२:९