close

फ्याक्टचेकः नझुक्किनुस् ! ‘सांसद् हर्कराज राईलाई राष्ट्रपतिले निलम्बन गरे’ भन्ने दाबी झुटो हो

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ ३०, २०८३ १३:२

फ्याक्टचेकः नझुक्किनुस् ! ‘सांसद् हर्कराज राईलाई राष्ट्रपतिले निलम्बन गरे’ भन्ने दाबी झुटो हो

काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा प्रतिनिधि सभा सदस्य एवम् प्रतिपक्षी दलका नेता हर्कराज राईलाई राष्ट्रपतिले निलम्बन गरेको दाबीसहितका पोस्ट भाइरल भइरहेका छन् । राष्ट्रपति कार्यालयको पत्र सार्वजनिक गर्दै सांसद राईको पद गएको दाबीका साथ उनको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।

टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या रहेको पुष्टि भएको छ । वास्तवमा राष्ट्रपति कार्यालयले सभामुखको सिफारिसमा प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेको हो । सचिव राईसँग नाम मिलेका कारण सामाजिक सञ्जालमा पदमुक्त भएका व्यक्ति सांसद राई नै हुन् भन्ने दाबी भाइरल भइरहेको हो । 

दाबी 

११ जुन २०२६ बेलुका ८ः२० बजे ‘गोकुल उमंग’ नामका प्रयोगकर्ताले ‘सोबिता गौतम’ नामको फेसबुक ग्रुपमा एक पोस्ट राखे । पोस्टमा सो फोटो सामाजिक सञ्जालबाट साभार गरिएको छ भनिएको छ । उनले पोस्टमा लेखेका छन्, “के यो समाचार सत्य हो त? हर्क साम्पाङ पद मुक्त समाजिक सञ्जालबाट साभार **** #harkasampang #harkasampangarevolution ।

उनले राखेको फोटोमा सांसद हर्कराज राई (हर्क साम्पाङ)को एआईले मोडिफाई गरेको तस्बिर राखिएको छ । यो सामग्री तयार पार्दासम्म सो पोस्टमा ११०० बढी रियाक्सन, २४९ कमेन्ट आएका छन् भने ४३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

सांसद हर्कराज राईको पद निलम्बन गरिएको दाबीसहित राखिएका पोस्ट खोज्न टेकपाना फ्याक्टचेक डेस्कले ‘हर्कराज’ ‘सांसद पद निलम्बन’, ‘हर्क पद निलम्बन’ जस्ता कीवर्ड खोज्यौं । त्यस क्रममा ‘Mausam Limbu’ नामका प्रयोगकर्ताले ‘श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङज्यूको पदमुक्त हुन आटेको हो कि के हो??’ क्याप्सनसहित पोस्ट राखेको फेला पर्‍यो । उनले राखेको पोस्टरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सांसद हर्क साम्पाङको फोटो राखिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र सक्रिनशट ।

‘Sri Shive Ji Vlog’ नामका प्रयोपगकर्ताले एआई भिडिओ राखेका छन् । जहाँ सांसद् राई नाचिरहेको जस्तो देखिएका छन् । छेउमा रहेका मर्यादापालकले ताली बजाएको देखाइएको छ भने प्रधानमन्त्री जस्ता देखिने व्यक्तिले मादल बजाएको देखाइएको छ । माथिपट्टि राष्ट्रपति कार्यालयको विज्ञप्ति राखिएको छ भने त्यसैमा प्रधानमन्त्री शाह र सांसद राईको फोटो राखिएको छ । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

इन्स्टामा ‘mahendra.chapai.3’ नामका प्रयोगकर्ताले सांसद राईको फोटो राख्दै उनलाई राष्ट्रपति कार्यालयले निलम्बन गरेको दाबी गरेका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनशट ।

भाइरल भइरहेको फोटो गुगलमा रिभर्स इमेज सर्च गर्दा अन्य दर्जनौं सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेको पाइयो । 

सबैभन्दा पहिले भाइरल भइरहेको विज्ञप्तिमा के छ भन्ने चर्चा गरौं । सो विज्ञप्तिमा स्पष्ट रूपमा ‘राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको २८ वैशाख २०८३ को सिफारिसमा सङ्घीय ससदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम हर्कराज राईलाई २९ वैशाखदेखि प्रतिनिधिसभाको सचिव पदबाट हटाएको’ उल्लेख छ । अर्थात् हटाइएका व्यक्ति प्रतिनिधि सभा सदस्य हर्कराज राई नभएर प्रतिनिधि सभाका तत्कालीन सचिव हर्कराज राई हुन् । 

हामीले २९ वैशाखमा जारी भएको राष्ट्रपति कार्यालयको विज्ञप्ति खोज्यौं । उक्त आधिकारिक विज्ञप्ति र सामाजिक सञ्जालमा भाइरल भइरहेको विज्ञप्ति मिलेको देखिन्छ । ‘प्रतिनिधि सभाका सचिव निलम्बन’ शीर्षकको समाचार खोज्दा मुलधारका सञ्चारमाध्यमले निलम्बित सचिव राईको फोटो राखेको देखिन्छ । 

दाबी

प्रतिनिधि सभा सदस्य (सांसद) एवम् प्रतिपक्षी दलका नेता हर्कराज राई (हर्क साम्पाङ) लाई राष्ट्रपतिले पदबाट निलम्बन वा पदमुक्त गरे ।

दाबीकर्ता

‘गोकुल उमंग’, ‘Mausam Limbu’, ‘Sri Shive Ji Vlog’ नामका फेसबुक पेज तथा प्रयोगकर्ता र इन्स्टाग्राम प्रयोगकर्ता ‘mahendra.chapai.3’ लगायत ।

तथ्य

राष्ट्रपति कार्यालयको आधिकारिक विज्ञप्ति अनुसार २९ वैशाख २०८३ देखि पदमुक्त गरिएका व्यक्ति प्रतिनिधि सभाका सचिव हर्कराज राई हुन्, प्रतिनिधि सभाका सदस्य (सांसद) हर्कराज राई (हर्क साम्पाङ) होइनन् ।

पदमुक्त भएका सचिव र सांसदको नाम (हर्कराज राई) मिल्न गएका कारण सामाजिक सञ्जालमा सांसद राईको एआई (एआई) निर्मित/परिमार्जित तस्बिर प्रयोग गरी भ्रम सिर्जना गरिएको देखिन्छ ।

निष्कर्ष

राष्ट्रपति कार्यालयबाट पदमुक्त गरिएका व्यक्ति प्रतिनिधि सभा सदस्य हर्कराज राई भन्ने दाबी झुटो हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८३ १३:१६