close

एकै पटक हजारौं फोन नम्बरमा भ्वाइस सन्देश पठाउन सकिने

टेकपाना टेकपाना

चैत १६, २०७८ १६:२०

एकै पटक हजारौं फोन नम्बरमा भ्वाइस सन्देश पठाउन सकिने

काठमाडौ । सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ सञ्चार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ ।

भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा सञ्चालित यो सेवाको नेपालमै पहिलो व्यावसायिक सरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताए ।

‘सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौं फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रसारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ हाे,’ रेग्मीले भने ।

प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रुपमा यो सेवा आएको उनको भनाइ छ । यसलाई भ्वाइस एसमएस पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परिक्षण गरिएको रेग्मीले जानकारी दिए । महाधिवेशनमा उम्मेदवारले प्रतिनिधिहरुसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।

चुनावमा भोट माग्न मात्र नभई कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् ।

‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरी वेब एप्लिकेसनमा अपलोड गरिन्छ,’ रेग्मी थप्छन्, ‘निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन् । फोन नउठेका नम्बरमा कलहरू पुनः डायल हुन्छ । अन्त्यमा सोको प्रभावकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ ।’

कम्पनी स्थापनाको एक वर्षमा करिब ५०० सेवाग्राहीलाई सेवा दिएर सिस्टमको सफल परीक्षण गरेको रेग्मी बताउँछन् । सबै किसिमका परीक्षणमा यो सेवा प्रभावकारी देखिएपछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रुपमा सबै व्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको रेग्मीको भनाइ छ ।

टेलिकमको शुल्क र कम्पनीको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैयाँ खर्च लाग्ने बताइएको छ । आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिए ।

यसै प्रविधिको प्रयोग गरी विभिन्न अनुसन्धान, पोल, ग्राहकको गुनासो तथा प्रतिक्रिया सङ्कलन गर्न सकिने सेवा समेत सुरु गरिएको छ ।

यो सेवा अटोमेटेड भ्वाइससँग सम्बन्धित भएकाले अन्तरराष्ट्रिय स्तरमा समेत सेवा प्रवाह गर्ने कम्पनीको योजना रहेको छ ।

यसअघि कम्पनीले कोरोना महामारीताका विविध संस्थासँगको समन्वयमा सार्वजनिक सन्देश ब्रोडकास्टिङ गरिसकेको छ ।

एक पटकमा एकभन्दा बढी व्यक्तिहरूक‍ो पहुँचमा तत्काल पुग्नुपर्ने सूचनाको पहुँच पुर्‍याउनका लागि कम्पनीले यस्तो कदम अघि सारेको हो । रिङ्गेजले टेलिकम कम्पनीहरुको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको छ ।

२०२१ मा स्थापित कम्पनीले हालसम्म ७० भन्दा बढी जिल्लामा पहुँच बनाएकाे दावी गरेकाे छ, जसमा ९२.७६ प्रतिशत सहभागितामा ९९.५६ प्रतिशत ग्राहक ब्रोडकास्टमा जोडिएका छन् ।

कुनैपनि कम्पनीका सम्बन्धित सेवाग्राहीमाझ समान सूचनाको पहुँच बनाउनु कम्पनीको उद्देश्य रहेको छ ।

‘भ्वाइस ब्रोडकास्टिङ सिस्टमको सेवाका लागि भूगोल र मोबाइलफोनको प्रकृतिले फरक पार्दैन । नेपालको सन्दर्भमा साक्षरता, भाषा र प्रविधिको प्रयोग चुनौतिपूर्ण छ,’ भ्वाइस ब्रोडकास्टिङ सिस्टमको निर्माता कम्पनी भक्सक्रोका अध्यक्ष सुसान्त राई थप्छन्, ‘यस्तोमा सम्बन्धित संस्था तथा संगठनले सर्वसाधरणलाई उपयुक्त हुने भाषा र शैलीको प्रयोग गरी सूचना सम्प्रेषण गर्न सक्छन् । जुनसुकै किसिमका मोबाइलफोन प्रयोगकर्ताका लागि समान रुपमा उपलब्ध छ । यसो हुँदा सूचनाको पहूँच सिधा र सरल हुन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३