close

अकामाईको सर्भर डाउन हुँदा नेपालको टिकटकमा समस्या

टेकपाना टेकपाना

चैत १६, २०७८ २०:१४

अकामाईको सर्भर डाउन हुँदा नेपालको टिकटकमा समस्या

काठमाडौं । अकामाईको सर्भर डाउन भएको छ । कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) सेवाको रुपमा रहेको अकामाई डाउन हुँदा मुख्यतः लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा समस्या देखिन थालेको छ । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका अनुसार सर्भर डाउन हुँदा त्यसको ट्राफिक ६० प्रतिशतसम्म कम भएको छ ।

अकामाईको तर्फबाट नेपाल हेर्ने अधिकारीलाई समेत यस विषयमा जानकारी गराइसकेको र अहिलेसम्म के कारणले समस्या उत्पन्न भएको भन्ने यकिन भइ नसकेको उल्लेख छ । सम्भवतः इन्टरनेसनल स्विच तथा सर्किटमा केही समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रारम्भिक रुपमा हेर्दा नेपालको इन्टरनेटमा मात्र यस्तो समस्या देखिएको एक इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रमुख प्राविधिक अधिकृतले जानकारी दिए । ‘अन्य देशमा पनि यस किसिमको समस्या देखिएको विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने ।

अकामाईको सर्भर डाउन हुँदा ग्राहकले ल्यागिङ (इन्टरनेट चल्दा चल्दै रोकिएको जस्तो हुने) र इन्टरनेट सुस्त चल्ने समस्या भोगिरहेका छन् । यद्यपि कतिपय प्रयोगकर्ताले यसको महसुस नगरेको हुन समेत सक्ने बताइन्छ । करिब साढे तीन घण्टादेखि उत्पन्न यो समस्याका कारण अकामाईको ट्राफिक ४० प्रतिशतमा खुम्चिएको छ ।

अकामाईको कूल इन्टरनेट ट्राफिकमा टिकटकको मात्रै ७० प्रतिशत ट्राफिक हुने गरेको छ । अकामाईको सर्भर डाउन हुँदा फेसबुक, गुगल लगायतका अन्य सेवामा ट्राफिक बढ्ने र त्यसमा समेत समस्या देखिन सक्ने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३