सिम्पल मिडिया नेटवर्कको इन्टरनेट अनुमतिपत्र खारेज, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन
असार ५, २०८३ १०:२८
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सानेपा, ललितपुरमा कार्यालय रहेको सिम्पल मिडिया नेटवर्क प्रा. लि. को इन्टरनेट (ईमेल सहित) सेवाको अनुमतिपत्र रद्द गरेको छ । शुक्रबार गोरखापत्रमा एक सूचना जारी गर्दै प्राधिकरणले उक्त कम्पनीले नियमअनुसार समयमै अनुमतिपत्र नवीकरणका लागि आवेदन पेस नगरेकाले लाइसेन्स स्वतः खारेज भएको जनाएको हो ।
सिम्पल मिडिया नेटवर्कले २ असार २०६३ मा इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएको थियो । तर, दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम तोकिएको समयावधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेकाले उक्त अनुमतिपत्र मिति ३ असार २०८३ देखि लागु हुने गरी स्वतः रद्द भएको हो ।
यसैगरी, प्राधिकरणले उक्त कम्पनीलाई सरकार र प्राधिकरणलाई बुझाउनुपर्ने कुनै रकम वा बक्यौता भए यो सूचना प्रकाशित भएको ३० दिनभित्र सम्पर्क गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र बक्यौता राफसाफ नगरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।

पछिल्लो अध्यावधिक: असार ५, २०८३ १०:३६
