close

आज सार्वजनिक हुँदै वनप्लसको शक्तिशाली स्मार्टफोन, यसरी हेर्नुहोस् लाइभ इभेन्ट 

टेकपाना टेकपाना

चैत १७, २०७८ १५:१

आज सार्वजनिक हुँदै वनप्लसको शक्तिशाली स्मार्टफोन, यसरी हेर्नुहोस् लाइभ इभेन्ट 

काठमाडौं । वनप्लसको फ्ल्यागशिप स्मार्टफोन वनप्लस टेन प्रो फाइभजी आज सार्वजनिक हुँदैछ । गत वर्ष चीनमा सार्वजनिक भइसकेको वनप्लसको यो नयाँ स्मार्टफोन बिहीबारदेखि विश्व बजारमा आउन लागेको हो ।

दाबी गरिए अनुसार वनप्लस टेन प्रो कम्पनीको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोन हुनेछ । 

फोनमा के छ खास ? 

वनप्लस टेन प्रो स्मार्टफोनमा सबैभन्दा शक्तिशाली स्न्यापड्रागन एट जेन वान चिपसेट राखिएको छ । साथै यसमा तीन ओटा रियर क्यामेरा रहेका छन् । जसमा ८० वाटको फास्ट चार्जिङ समेत पाउन सकिनेछ ।

वनप्लस टेन प्रो फाइभजी सार्वजनिक गर्न कम्पनीले बिहीबार बेलुकी नेपाली समय अनुसार ७ः४५ बजे एउटा भर्चुअल कार्यक्रम आयोजना गर्दैछ । जुन कम्पनीको अफिसियल युट्युव च्यानलमा लाइभ हेर्न सकिनेछ ।

वनप्लस टेन प्रो स्मार्टफोनमा ६.७ इन्चको क्वाड एचडी प्लस फ्ल्युड एमोलेड डिस्प्ले राखिएको छ । त्यस्तै फोनमा १२० हर्जको रिफ्रेश रेट र प्यानलमा एलटीपीओ प्रविधि प्रयोग गरिएको छ ।

वनप्लस टेन प्रो स्मार्टफोन १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज अप्सनका साथ आउनेछ । एन्ड्रोइड १२ आउट अफ दि बक्समा काम गर्ने यो फोनमा अक्सिजन ओएस यूआई पाउन सकिनेछ ।

यसैगरी फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको वनप्लस टेन प्रोमा ८० वाटको फास्ट चार्जिङ सपोर्ट र रिभर्स चार्जिङ सहित ५० वाटको वायरलेस चार्जिङ सपोर्ट पाउन सकिने उल्लेख छ ।

वनप्लस टेन प्रो फाइभजी स्मार्टफोनमा ह्यासलब्लाडको क्यामेरा प्रयोग गरिएको छ । यसको मुख्य क्यामेरा ४८ मेगापिक्सेल, ५० मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर र ८ मेगापिक्सेलको टेलिफोटो सेन्सर सहित ३.३x अप्टिकल जुम समेत रहेको छ ।

नेपालमा शुक्रबारदेखि प्रिबुकिङ सुरु भएको यो फोनका लागि आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ । वनप्लसका आधिकारिक बिक्रेता तथा अनलाइन पार्टनर दराज र सस्तो डिलबाट चैत १९ गतेसम्म अग्रिम बुकिङ गर्न सकिनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३