close

एप्पलको लाइटनिङ पोर्ट राखिएको विश्वकै पहिलो एन्ड्रोइड फोन तयार

टेकपाना टेकपाना

चैत १८, २०७८ १९:२८

एप्पलको लाइटनिङ पोर्ट राखिएको विश्वकै पहिलो एन्ड्रोइड फोन तयार

तपाईँलाई सम्झना हुनुपर्छ इन्जिनियरका विद्यार्थी केन पिल्लोनेलले त्यस्तो करामत गरेर देखाए, जुन स्वयम् एप्पलले गर्न सकेको थिएन । उनले एउटा आईफोन एक्स खोलेर त्यसमा रहेको प्रोप्राइटरी लाइटनिङ पोर्ट हटाएर त्यसमा यूएसबी टाइप-सी पोर्ट राख्न सफल भएका थिए ।

पछि उनले उक्त आईफोन लिलामीमा राखे, जुन ८६ हजार अमेरिकी डलर अर्थात् एक करोड रुपैयाँ भन्दा बढीमा बिक्री भयो । त्यसको केही महिना पछि उनै पिल्लोनेल नयाँ परियोजनासँगै फर्किएका छन् । उनले अहिले ‘रिभर्स कोर्ष’मा सामसङ ग्यालेक्सी ए ५१ को यूएसबी टाइप-सी पोर्टलाई लाइटनिङ कनेक्टरबाट प्रतिस्थापन गरिदिएका छन् ।

पिल्लोनेलले युट्युबमा आफ्नो नयाँ परियोजना सम्बन्धी एउटा छोटो भिडिओ राखेका छन् । त्यसमा उनले यूएसबी टाइप-सी भएको आईफोन बनाइसकेपछि त्यसको ठीक विपरित लाइटनिङ पोर्ट भएको विश्वकै पहिलो एन्ड्रोइड फोन बनाएका छन् ।

भिडिओमा उनले सामान्य तरिकाले आईफोनको एउटा लाइटनिङ केबल लिएर परिवर्तन गरिएको ग्यालेक्सी फोनमा राखेका छन् । त्यसपछि उनले उक्त फोनले डेटा कनेक्सन समेत सपोर्ट गरेको देखाएका छन् ।

यो स्टन्ट बेतुक देखिए पनि इन्जिनियरिङमा भने यो एउटा उल्लेखनीय उपलब्धि हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३