close

मोबाइल बैंकिङमा नयाँ रेकर्ड, ८ महिनामै करिब ७ खर्बको कारोबार

टेकपाना टेकपाना

चैत ३०, २०७८ ७:५९

मोबाइल बैंकिङमा नयाँ रेकर्ड, ८ महिनामै करिब ७ खर्बको कारोबार

काठमाडौं । डिजिटल माध्यमबाट हुने भुक्तानीको कारोबारको संख्या दैनिकजसो बढ्दो छ । विद्युतीय भुक्तानीका विभिन्न माध्यममध्ये अहिले निकै लोकप्रिय बनेको माध्यम हो, डिजिटल वालेट र मोबाइल बैंकिङ ।

विगत आठ महिनामा मात्र डिजिटल वालेट तथा मोबाइल बैंकिङको कारोबार संख्या तथा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क अनुसार मोबाइल बैंकिङबाट भएको कारोबार रकम ४६ प्रतिशतले वृद्धि भएको छ भने डिजिटल वालेटबाट भएको कारोबार रकम १८ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्षको पहिलो महिना (साउन) मा मोबाइल बैंकिङबाट ७२ अर्ब ८७ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो । पछिल्लाे प्रतिवेदन अनुसार फागुन महिनामा मात्रै माेबाइल बैंकिङबाट एक खर्ब सात अर्ब ११ करोड ९० लाख रुपैयाँ काराेबार भएकाे छ ।

तथ्याङ्क अनुसार विगत आठ महिना (साउन-फागुन) मा मोबाइल बैंकिङमार्फत कूल ६ खर्ब ९५ अर्ब ८९ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा (साउन – फागुन) मोबाइल बैंकिङ मार्फत दुई खर्ब ३५ अर्ब ५८ करोड ५० लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

त्यस्तै डिजिटल वालेटको कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो महिना (साउन) मा डिजिटल वालेट मार्फत १४ अर्ब ५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । पछिल्लाे फागुन महिनामा भने १६ अर्ब ५९ करोड ९० लाख रुपैयाँ काराेबार डिजिटल वालेटमार्फत पुगेको छ ।

विगत आठ महिनामा (साउन-फागुन) डिजिटल वालेटमार्फत एक खर्ब २० अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७२ अर्ब १६ करोड २० लाख रुपैयाँको मात्र डिजिटल वालेटमार्फत कारोबार भएको थियो ।

प्रयोगकर्तामाझ विस्तारै बढ्दै गएको विद्युतीय भुक्तानीको पहुँच र अभ्यास साथै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण पनि विद्युतीय भुक्तानीमा सकारात्मक वृद्धि भइरहेको राष्ट्र बैंकको भनाइ छ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४