close

खल्ती वालेटमा एआई फिचर आउँदै, प्रयोगकर्ताले पाउनेछन् नयाँ अनुभव

टेकपाना टेकपाना

माघ १९, २०८२ १९:४२

खल्ती वालेटमा एआई फिचर आउँदै, प्रयोगकर्ताले पाउनेछन् नयाँ अनुभव

काठमाडौँ । डिजिटल वालेट खल्तीले आफ्नो प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि भित्र्याउने भएको छ । सोमबार सामाजिक सञ्जालमार्फत एक टिजर पोस्ट गर्दै कम्पनीले प्रयोगकर्ताका लागि एआईमा आधारित नयाँ फिचर चाँडै ल्याउन लागेको संकेत गरेको हो ।

खल्तीले भविष्यको प्रविधि अब प्रयोगकर्ताको ‘कमान्ड’ को प्रतीक्षामा रहेको उल्लेख गर्दै डिजिटल भुक्तानीको क्षेत्रमा एआईमार्फत नयाँ प्रयोग गर्न लागिएको जनाएको छ । “हामीले एआईको शक्तिलाई तपाईँको औँलाको टुप्पोमा यस्तो तरिकाले ल्याउँदैछौँ, जुन तपाईँले पहिले कहिल्यै देख्नुभएको छैन,” कम्पनीले आफ्नो पोस्टमा लेखेको छ ।

पछिल्लो समय विश्वव्यापी रूपमा च्याटजिपिटी, जेमिनाई, ग्रोकजस्ता एआई टुलहरू चर्चित भइरहेका बेला खल्तीले पनि सोही प्रविधिलाई आफ्नो एपमा एकीकृत गर्न लागेको बुझिएको छ । कम्पनीले ‘प्रम्प्ट’ (Prompt) शब्द प्रयोग गरेकाले प्रयोगकर्ताले लेखेर वा बोलेर दिने निर्देशनका आधारमा वित्तीय कारोबार वा अन्य सेवा सञ्चालन हुनसक्ने अनुमान गरिएको छ ।

यो नयाँ प्रविधि कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ र ठ्याक्कै के-के काम गर्नेछ भन्नेबारे विस्तृत जानकारी दिइएको छैन । तैपनि, यो प्रविधिले डिजिटल वालेटको प्रयोगलाई सहज, द्रुत र अन्तरक्रियात्मक बनाउने अपेक्षा गरिएको छ ।

फिनटेक क्षेत्रमा एआईको प्रयोग बढेमा प्रयोगकर्ताको खर्च गर्ने शैली विश्लेषण गर्ने, वित्तीय परामर्श दिने र ग्राहक सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्नेमा विश्लेषकको मत छ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १७:२