काठमाडौं । बागमती प्रदेशभित्रको सार्वजनिक सवारीमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयन गर्नका लागि आह्वान गरिएको भुक्तानी प्रणाली खरिद प्रक्रिया रद्द भएको छ ।
गत माघ महिनामा बागमती सरकारले सार्वजनिक सवारी भाडा भुक्तानीलाई नगदरहित बनाउने निर्णय गरेको थियो । यही निर्णयसहित प्रदेशले भुक्तानी प्रणाली खरिदका लागि प्रस्ताव पनि माग गरेको थियो ।
यद्यपि सरकारले हाललाई यो प्रक्रिया रोक्ने घोषणा गरेको छ ।
सम्बन्धित विषयमा थप अध्ययन, परामर्श र तयारी आवश्यक भएकाले पूर्णरुपमा तयारी सकेर मात्र खरिद प्रक्रियाको लागि पुनः सूचना प्रकाशित गर्ने प्रदेशको रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यद्यपि कहिले र कति समय लाग्नेछ भन्ने विषयमा भने मन्त्रालयले केही जानकारी दिएको छैन ।