close

लाइसेन्स नलिएरै चलाउन मिल्ने एबलको वाकी टकी नेपालमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

बैशाख ५, २०७९ १९:४५

लाइसेन्स नलिएरै चलाउन मिल्ने एबलको वाकी टकी नेपालमा, कति छ मूल्य ?

काठमाडौं । चिनियाँ ब्रान्ड एबलका वाकी टकी नेपाली बजारमा भित्रिएका छन् । डिकेड इन्टरनेसनल प्रालिले नेपालमै पहिलो पटक लाइसेन्स नलिएर प्रयोग गर्न मिल्ने वाकी टकी ‘एलटीई पीओसी रेडियो’ नेपाल ल्याएको हो । 

यो वाकी टकी जीएसएम मोबाइल नेटवर्क टुजी, थ्रीजी र फोरजीमा चल्ने कम्पनीले जनाएको छ । यसको अर्थ अन्य वाकी टकी जस्तो यसका लागि फ्रिक्वेन्सी नचाहिने र मोबाइल नेटवर्कमै काम गर्ने बताइएको छ ।    

तर यसको बेफाइदा भनेको मोबाइल नेटवर्क नआउने ठाउँमा भने यसले काम गर्दैन । छुट्टै फ्रिक्वेन्सीमा चल्ने वाकी टकीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट लाइसेन्स लिनुपर्ने हुन्छ ।

बिक्रेताले मात्र नभई, प्रयोगकर्तालाई समेत यस्तो लाइसेन्स आवश्यक पर्दछ । तर मोबाइल नेटवर्कमा काम गर्ने उपकरण भएकाले नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप अप्रुभल लिएको र आईएमईआई समेत दर्ता गरिएको कम्पनीका सञ्चालक विष्णु ढकालले बताए ।

‘मोबाइलबाट कल गर्दा एक पटकमा एक जनासँग कुरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर यो वाकी टकीमा भने एकै पटकमा यसमा जोडिएका सबै डिभाइसमा एकसाथ कुरा गर्न सकिन्छ ।’

वाकी टकीमा भ्वाइस रेकर्डको सुविधाका साथै जीपीएस लोकेसन ट्र्याकिङ र इमर्जेन्सी बटन लगायतका फिचर छन् । यसका साथै यो डिभाइसबाट मोबाइलमा कल गर्ने सिस्टम समेत अन गर्न सकिन्छ । 

यसमा छुट्टै डेटा सिम हुने र ६४ केबीपीएसको इन्टरनेट डेटामा यसले काम गर्ने कम्पनीको भनाई छ । प्रयोग भएअनुसार त्यसका लागि ग्राहकले नियमित सर्भिस चार्ज कम्पनीलाई बुझाउनु पर्ने हुन्छ ।

डेटा सिमका लागि नेपाल टेलिकमसँग छुट्टै सम्झौता समेत गरिएको ढकालले बताए । सिङ्गल र डुअल दुवै सिमकार्ड स्लट रहेको विकल्प उपलब्ध रहेको बताइएको छ । 

एबलको एउटा वाकी टकी डिभाइसलाई २५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । तर कम्पनीले कम्तिमा दुई वा दुई भन्दा बढी डिभाइस खरिद गर्नुपर्ने स्पष्ट पारेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२