काठमाडौं । फ्रि फायर गेममार्फत १३ वर्षकी नाबालिकासँग चिनजान गरी जबरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त काठमाडौंले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ । नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थबाट महेश उदासलाई पक्राउ गरेको हो ।
नाबालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालय पाल्पामा चैत ३० गते छोरी हराएको निवेदन दिएका थिए । सोही दिनबाट जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका वृत्त तथा प्रभागहरू मार्फत ती नाबालिकाको खोज तलास तिव्रता पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
गत आइतबार प्रहरीले चन्द्रागिरी नगरपालिका ८ स्थित मातातीर्थबाट नाबालिकालाई फेला पारेको थियो । उनीसँग सोधपुछ गर्दा महाराजगञ्जका महेश उदास भन्ने व्यक्तिले उनलाई बिहेको आश्वासन देखाई पाल्पाबाट काठमाडौं ल्याएको कुरा खुलेको थियो । उनीहरूको चिनजान करिब एक वर्षअघि अनलाइन गेम फ्रि फायरबाट भएको थियो ।
चिनजानपछि उनीहरूबीच फेसबुक मेसेन्जर र फोनमा दैनिक कुराकानी हुन थाल्यो । ती नाबालिकालाई बिहेको आश्वासन देखाउँदै उदासले चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याए ।
त्यसको एक दिपछि चैत ३० गते राति टोखा -६, स्थित बसुन्धराको एक होटलमा राखेर जबर्जस्ती करणी गरे । हाल थप कारबाहीका लागि अभियुक्त महेश उदासलाई प्रहरीले १० दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा त्यस्ता अनलाइन माध्यमबाट चिनजान गरी करणी गर्ने घटना बढ्दै गएका छन् ।