close

एलन मस्क यसकारण किन्न चाहन्छन् ट्वीटर

टेकपाना टेकपाना

बैशाख ७, २०७९ ८:३८

एलन मस्क यसकारण किन्न चाहन्छन् ट्वीटर

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटरकाे पुरै स्वामित्व किन्ने प्रस्ताव राखेपछि चौतर्फी चर्चाको विषय बन्यो । उनले गत बिहीबार टीईडी टकमा आफूले ट्वीटर किन किन्न चाहेकाे भन्ने कुरा खुलाएका छन् । उनले सो कार्यक्रममा आत्म सुरक्षात्मक दृष्टिकोण व्यक्त गरेका छन् ।

उनले ट्वीटर किन्ने विचारलाई भविष्यको सभ्यतासँग जोडेर कल्पना गरेको प्रष्ट हुन्छ । एलन मस्कका अनुसार ट्वीटर किन्ने विचारका अघि कुनै प्रकारको आर्थिक महत्त्व जोडिएको छैन ।

उनी ट्वीटरलाई लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि एक विश्वसनीय प्लेटफर्मका रूपमा स्थापित गर्न चाहन्छन् । जसले सामाजिक सञ्जालको दृष्टिलाई प्रतिबिम्ब गरोस् ।

टीईडी टकमा एलन मस्कले क्रिश एन्डरसनलाई भने, ‘यो कुनै पनि हालतमा पैसा कमाउने विचार होइन । संसारमा स्वतन्त्रतालाई मद्दत गर्न लोकतन्त्रको कार्यका लागि यो एक निकै महत्वपूर्ण पहल हो । मलाई लाग्छ जति हामीले ट्वीटरलाई सार्वजनिक प्लेटफर्मको रूपमा विश्वास बढाउन सक्छौं, त्यति नै सभ्यताको जोखिम कम हुन्छ ।’

ट्वीटरमा भएको स्वतन्त्र अभिव्यक्तिको कमीलाई मध्यनजर गर्दै ट्वीटरले कम्पनीको कन्टेन्ट मोडेरेसन विचारमा खुला रूपमा पारदर्शिता बढाउनुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।

यसले ट्वीटर सञ्चालन गर्ने तरिकामा ठूलो परिवर्तन देखाउने विश्वास मस्कले लिएका छन् ।

यदि आफूले कम्पनी किन्दा कुनै गल्ती नहुने उनकाे जिकिर छ । ‘मलाई लाग्छ मानिसहरूले सबैकुरामा आरोप लगाउन सक्छन् । यदि मैले ट्वीटर किनेँ, त्यसपछि केही गल्ती भयो भने त्यो १०० प्रतिशत मेरो गल्ती हो । मलाई लाग्छ त्यसमा धेरै त्रुटि हुन सक्छन्’ उनले भने ।

ट्वीटर किन्ने योजना असफल हुँदा ब्याकअप योजनाका बारेमा पनि आफू तयारी भएर बसेकाे उनले सुनाए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२