काठमाडौं । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै महँगा फोनसहितका विलासी सामानका लागि प्रतीतपत्र (एलसी) खोल्न प्रतिबन्ध लगाएको छ । एलसी बन्द गर्दा महँगा फोनको आयात कम हुने आकँलन गरिएको भएपनि तथ्याङ्कले भने फरक देखाएको छ ।
यसअघि विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै राष्ट्र बैंकले चैतको तेस्रो सातामा कम्तिमा एक हस्ताका लागि एलसी ठप्प बनाउन बैंकहरूलाई मौखिक निर्देशन दिएको थियो ।
त्यसैका आधारमा बैंकर्स संघको बैठकले एक सातासम्म मोबाइलसहित निजी गाडी, चुरोट, रक्सी, सजावटका सामग्री लगायत विलासी सामाग्रीका लागि एलसी नखोल्ने निर्णय गरेको थियो । उक्त निर्णयका बावजुद पनि मोबाइल आयात भने रोकिएन । उल्टै अन्य महिनाको तुलनामा तीन गुणाले मोबाइल आयात वृद्धि भएको छ ।
भन्सार विभागले भर्खरैमात्र जारी गरेको चैतसम्मको तथ्याङ्क अनुसार पछिल्लो ९ महिना अर्थात साउन देखी चैतसम्म ३४ अर्ब ९७ करोड ९७ लाख भन्दा बढिको ५० लाख ८ सय ५९ ओटा मोबाइल भित्रिएका छन् । चैतमा मात्रै झन्डै चार अर्ब बराबरको साढे सात लाख मोबाइल सेट भित्रिएको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार माघ महिनासम्म कुल ३० अर्ब ९९ करोड बराबरको ४२ लाख ५९ हजार ९ सय ८९ ओटा मोबाइल भित्रिएको थियो । जुन अघिल्लो महिना अर्थात माघको तुलनामा २ लाख ५४ हजार बढी हो । माघसम्म कुल ४० लाख ५ हजार ८ सय ४ ओटा मोबाइल आयात भएको थियो ।
माघ महिनाभन्दा फागुनमा २ लाख ५४ हजार बढी मोबाइल आयात भएकोमा फागुनबाट चैतमा आइपुग्दा आयातको संख्या बढेर एक महिनामै ७ लाख ४० हजार पुगेको छ । जुन अस्वभाविक वृद्धि हो । एकातर्फ सरकारले विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्नसक्ने भन्दै आयातमा कडाइ गरिरहेको छ । अर्कोतर्फ आयातको संख्यामा भने तीन गुणा भन्दा बढीले वृद्धि भएको छ ।