close

एप्पलले सुरु गर्‍यो ३ मोडलका आईफोन प्रयोगकर्ता आफैँले मर्मत गर्न सक्ने कार्यक्रम 

टेकपाना टेकपाना

बैशाख १५, २०७९ १८:४६

एप्पलले सुरु गर्‍यो ३ मोडलका आईफोन प्रयोगकर्ता आफैँले मर्मत गर्न सक्ने कार्यक्रम 

काठमाडौं । एप्पलले आफ्ना केही उत्पादन मर्मत गर्न सकिने म्यानुअल सार्वजनिक गर्नुका साथै त्यसका लागि आवश्यक टुल र पार्ट्स अनलाइनमा बिक्री गर्ने भएको छ । आईफोन प्रयोगकर्तालाई आफ्नो डिभाइस आफैँ मर्मत गर्ने वैकल्पिक व्यवस्था गर्ने एप्पलको उद्देश्य रहेको छ ।

प्रविधिको दिग्गज कम्पनीको ‘सेल्फ सर्भिस रिपेयर‘ नामक यो नयाँ कार्यक्रम तत्कालका लागि अमेरिकामा रहेका ग्राहकमाझ ल्याइएको हो । जसमा एप्पलको आईफोन थर्टिन अन्तर्गतका स्मार्टफोन, आईफोन १२ र नयाँ आईफोन एसई समावेश छन् ।

एप्पलको भनाईमा आफ्ना प्रमाणित प्राविधिक र साझेदार सर्भिस सेन्टरकै सरह पार्ट्स, टुल र निर्देशिका साहसिक र सक्षम व्यक्तिहरूका लागि उपलब्ध गराउने उद्देश्यका साथ यो कार्यक्रम तयार पारिएको हो । यसबाट प्रयोगकर्तालाई नयाँ स्मार्टफोन खरिद गर्नुको साटो आफूसँग भएको उपकरण मर्मत गर्न सहज बनाउने अपेक्षा कम्पनीले राखेको छ ।

एप्पलले मात्र होइन, प्रविधि क्षेत्रका गुगल, सामसङ, एचटीसी र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीले समेत गत वर्ष नै आफ्ना पार्ट्स र टुल बिक्री गर्नका लागि अनलाइन रिपेयर साइट आईफिक्सइटसँगको सहकार्यको घोषणा गरेका थिए । यसका लागि एप्पलले आफ्ना उपकरणका लागि सम्पूर्ण रिप्लेसमेन्ट पार्ट्स भने उपलब्ध गराउने छैन ।

बरु त्यसको साटो क्र्याक स्क्रिन र खराब भएका ब्याट्री तथा क्यामेरामा केन्द्रित हुनेछ । कम्पनीले आफ्नो खरिद कार्यक्रमभित्र डायोग्नस्टिक टुल समेत बनाउँदैछ, जसले प्रयोगकर्ताका लागि आवश्यक र आधिकारिक नयाँ पार्ट्सका लागि सहयोग पुर्‍याउनेछ ।

कम्पनीका अनुसार त्यस्तो डायोग्नस्टिक टुल ग्राहकले एप्पलबाट पार्ट्स खरिद नगरेसम्म उपलब्ध गराइने छैन । कम्पनीले यसै वर्षको अन्त्यसम्म रिपेयरका लागि एमवान (M1) मा आधारित म्याक पार्ट्स उपलब्ध गराउने र युरोपमा आफ्नो यो  कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ ।

तर एप्पलले आईफोन १२ भन्दा अघिका उत्पादनका लागि भने आफैँ मर्मत गर्न सकिने सुविधा दिने छैन, जुन सन् २०२० मा सार्वजनिक भएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२