काठमाडौं । टेक्निका टेक्नोलोजिज प्रालिले कक्षा ११ को प्रवेश परीक्षाको तयारीका लागि ‘टुल नेपाल’ नामक एप सार्वजनिक गरेको छ ।
एसईई दिएर बसेका विद्यार्थीले घरमै बसी प्रवेश परीक्षाको तयारी गर्न सकुन् भन्ने उद्देश्यसहित कम्पनीले यो एप ल्याएको हो । यो एपमा विज्ञान, व्यवस्थापन, कानून, स्टाफ नर्स लगायत विभिन्न विषयको प्रवेश परीक्षाको तयारी सामग्री उपलब्ध गराइएको छ ।
एपमा १० हजारभन्दा बढी वस्तुगत बहुवैकल्पिक प्रश्नहरूको अभ्यास गरी तयारी गर्न सकिने कम्पनीको भनाइ छ । साथै प्रश्नहरूको समाधानका लागि हिन्टस्, सोलुसन र नोटहरू पनि राखिएको हुनाले विद्यार्थीहरूलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुने बताइएको छ ।
पुराना वर्षहरूका प्रश्नहरूको संकलन, दैनिक एवं साप्ताहिक रुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीसहितका साथै विभिन्न कलेजहरूको विस्तृत विवरणहरू पनि यो एपमा उपलब्ध छ ।
कलेजहरूले चाहेको खण्डमा यसै एपमार्फत पनि प्रवेश परीक्षा सञ्चालन र विभिन्न सूचना प्रकाशित गर्नसक्ने सुविधा पनि उपलब्ध छ ।
विद्यार्थीहरूले यो एपका माध्यमबाट घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गर्न सक्नेछन् । यो एप एन्ड्रोइड, आईओएस र वेब भर्सनमा उपलब्ध छ ।