काठमाडौं । फेसबुक अकाउन्ट बनाउँदा फेसबुकको एआई सिस्टम आफैले तपाईंको युजरनेम राखिदिएको हुन्छ । त्यसरी एआईले युजरनेम बनाउँदा कतिपय अवस्थामा प्रयोगकर्ताको अकाउन्टमा राखिएको नाम अनुसार मिलेको हुन्छ भने कतिपय अवस्थामा नम्बर सहितको संयोजनमा युजरनेम तयार भएको हुन्छ ।
फेसबुकमा कसैले तपाईंको नाम सर्च गर्यो भने तपाईंको नामसँग मिल्ने धेरै अकाउन्टहरू हुन सक्छन् । त्यसबाट सही व्यक्ति यकिन गर्न कठिन हुन सक्छ । त्यस्तोमा यदि तपाईंले सो व्यक्तिलाई फेसबुकको युजरनेम दिनुभयो भने सहजै भेट्न सक्छ ।
त्यसैले पिन युजरनेम सहज र आफूलाई याद हुने राख्न जरुरी हुन्छ । फेसबुकको एआई सिस्टमले राखिदिएको युजरनेम गाह्रो अथवा मन नपर्न सक्छ । त्यस्तोमा युजरनेम परिवर्तन गरेर आफू अनुकुल राख्न सकिन्छ । त्यसका लागि यहाँ हामी फेसबुकको युजरनेम कसरी परिवर्तन गर्ने भन्ने बारेमा जानकारी दिँदैछौ ।
ब्राउजरबाट युजरनेम परिवर्तन गर्ने तरिका
फेसबुक एपबाट तपाईंले आफ्नो फेसबुक अकाउन्टको युजरनेम परिवर्तन गर्न सक्नुहुन्न । त्यसको विकल्पमा हामी डेक्स्टप भर्जनको ब्राउजर प्रयोग गर्न सक्छौ । सबैभन्दा पहिले आफ्नो फोन वा कम्प्युटरमा ब्राउजर खोल्नुहोस् । यदि फोनबाट खोल्नुभएको छ भने त्यसलाई डेक्सटप मोडमा खोल्नुहोस् । फोनको ब्राउजरमा डेक्सटप मोड अन गर्नका लागि निम्नानुसारका प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले क्रोम ब्राउजरको होम पेजमा जानुहोस् ।
त्यसपछि दायाँ साइडको माथि देखाइएको तीनवटा डटमा क्लिक गर्नुहोस् ।
त्यसको अन्त्यतिर ‘डेक्सटप साइट’ लेखिएको अप्सन देख्नुहुनेछ । त्यसमा ठीक लगाएर क्रोमको डेक्स्टप मोड अन गर्न सक्नुहुन्छ ।
अब तल दिइएको प्रक्रियाबाट फोन र कम्प्युटर दुवैबाट तपाईंको फेसबुक अकाउन्टको युजरनेम परिवर्तन गर्न सक्नुहुन्छ ।
क्रोम ब्राउजरमा सबैभन्दा पहिले फेसबुक लगइन गर्नुहोस् ।
त्यसपछि माथि सबैभन्दा बायाँतर्फ रहेको योर प्रोफाइल (Your Profile) आइकनमा क्लिक गर्नुहोस् ।
त्यहाँ सेटिङ एण्ड प्राइभेसी (Setting and Privacy) को अप्सन देखिन्छ ।
त्यसमा क्लिक गरेर सेटिङमा गयो भने त्यहाँ जेनरल (General) को दोस्रो अप्सनमा युजरनेम देखिन्छ । त्यसमा क्लिक गरेर तपाईंले आफ्नो फेसबुकको युजरनेम परिवर्तन गर्न सक्नुहुन्छ ।
मेसेन्जरबाट फेसबुक अकाउन्टको युजरनेम परिवर्तन गर्ने तरिका
यदि क्रोमबाट हुने प्रक्रिया झन्झटिलो लाग्यो भने तपाईंले मेसेन्जर एपबाट पनि फेसबुक अकाउन्टको युजरनेम परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिले मेसेन्जर एपमा जानुहोस् ।
त्यसपछि माथि बायाँतर्फ रहेको प्रोफाइल पिक्चरको आइकन क्लिक गर्नुहोस् । त्यसमा क्लिक गरेसँगै त्यहाँ युजरनेम भन्ने अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गर्यो भने एडिट युजरनेम र कपी लिंक भन्ने दुईओटा अप्सन देखिन्छ । त्यसमध्ये पहिलो अर्थात् ‘एडिट युजरनेम’ भन्ने अप्सनमा क्लिक गर्नुभयो भने आफूले चाहेको र उपलब्ध भएको युजरनेम राख्न सक्नुहुन्छ ।