काठमाडौं । यही आउँदो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैन । बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म चल्ने मतदानका लागि मंगलबार रातीबाट मौन अवधि सुरु भइसकेको छ । मौन अवधि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम हुनेछ ।
यो अवधिमा चुनाव प्रचारको कुनै पनि क्रियाकलाप गर्न निर्वाचन आचार संहिताले रोक लगाएको छ । मौन अवधिभर कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी लगायतका कुनै पनि क्रियाकलाप गर्न नपाइने निर्वाचन आचारसंहिता २०७८ मा व्यवस्था छ ।
यस्तोमा पछिल्लो समय चुनाव प्रचारको सबैभन्दा ठुलो माध्यम बनेको सामाजिक सञ्जालमा यस्ता क्रियाकलाप गर्न पाइन्छ की पाइदैन त ? यो विषय धेरैका लागि चासोको विषय हो । निर्वाचन आचारसंहिताले सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारलाई होच्याउने, एउटा उमेदवारको फोटोलाई अर्को उम्मेदवारको फोटोमा जोड्ने, सामाजिक सञ्जालमा चुनाब भड्काउने खालका कुनै पनि क्रियाकलाप गर्न नपाउने लगायतका व्यवस्था गरिएका छन् ।
सँगै फेसबुक, ट्विटर, टिकटक जस्ता कुनै पनि सामाजिक सञ्जालबाट यो अवधिमा भोट पनि माग्न पाइदैन । आचारसंहिताको ५ (छ) मा भनिएको छ, ‘मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न पनि पाइदैन ।’