काठमाडौँ । पछिल्लो समय डिजिटल तथा अनलाइन भुक्तानीमा क्यूआर कोड निकै लोकप्रिय हुन थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७७ साउनयता २०७८ चैत मसान्तसम्म दुई करोड १७ लाख ३७ हजार ३७८ पटक क्यूआर कोड स्क्यान गरी भुक्तानी भएको छ ।
जसमा २०७७ को चैत महिनामा मात्रै सात लाख ८२ हजार ४७१ पटक क्यूआर कोड स्क्यान भएकोमा २०७८ को सहो महिनामा २४८ प्रतिशत अर्थात १९ लाख ४१ हजारले वृद्धि हुँदै करिब २८ लाख पटक क्यूआर कोड स्क्यान गरी भुक्तानी भएको छ । यसरी २०७७ साउन यताको १८ महिनामा कूल ७९ अर्ब पाँच करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार क्यूआर कोडमार्फत भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो वर्षको चैत महिनामा दुई अर्ब ७२ करोड २० लाख रुपैयाँ रहेको क्यूआरमार्फत हुने भुक्तानी २०७८ को चैतमा आउँदा महिनाकै आठ अर्ब ९४ करोड २० लाख पुगेको छ ।
डिजिटल भुक्तानीका अन्य माध्यमको के छ अवस्था ?
विद्युतीय भुक्तानीतर्फ ईसीसी, आईपीएस, ब्रान्चलेस बैंकिङ र ईकमर्स बाहेकका सबै उपकरणमा बृद्धि देखिएको छ । जसमध्ये सबैभन्दा बढी अर्थात २६३ प्रतिशतको वृद्धि प्रिपेड कार्डमा देखिएको छ ।
२०७७ को चैतमा सात करोड ७० लाख रहेको प्रिपेड कार्डको भुक्तानी २०७८ को चैत महिनामा २८ करोड पुगेको छ । त्यस्तै वालेटको कारोबार २९ प्रतिशत, पोसको कारोबार २६ प्रतिशत, मोबाइल बैंकिङको कारोबार १३७ प्रतिशत र इन्टरनेट बैंकिङको कारोबार २८ प्रतिशतको वृद्धि भएको छ ।
यसैगरी क्रेडिट कार्डको कारोबार ११ प्रतिशत, डेबिट कार्डको कारोबार चार प्रतिशत र कनेक्ट आईपीएसको कारोबार १०५ प्रतिशत र एटीएमबाट नगद झिक्ने दरमा चार प्रतिशतको बृद्धि रहेको छ ।