काठमाडौं । चीनको बेइजिङ ओरियन्टल इलेक्ट्रोनिक्स ग्रुप (बीओई) ले गाडीको लागि टचस्क्रिन झ्याल तयार गरेको छ । हालै सम्पन्न भएको एसआईडी डिस्प्ले विक २०२२ मा बीओईले आफ्नो नयाँ पारदर्शी ओएलईडी डिस्प्ले प्रदर्शनी गरेको थियो । जुन गाडीको झ्यालका रुपमा प्रयोग गर्न सकिनेछ ।
बीओईका अनुसार यी ट्रान्सपरेन्ट र ओएलईडी इन्टर्याक्टिभ (पारदर्शी र अन्तरक्रिया गर्न मिल्ने) झ्यालहरूको स्क्रिन साइज १२.५ इन्चको हुनेछ । जसको पारदर्शिता ४५ प्रतिशत छ । यो झ्यालमा सवारी चालक वा अन्यले स्क्रिनमा विभिन्न कुराहरू कोर्न, नेभिगेसनको विवरणहरू पढ्न, मौसम जाँच गर्न र फोटोहरू पनि लिन सकिनेछ ।
Source: BOE
यो झ्याल विशेष गरी ट्याक्सीहरूको लागि उपयोगी हुने कम्पनीको भनाई छ । जाममा फसेको बेला, स्क्रिनमा काम गरेर समय बिताउन सकिने वा ठाउँहरू आफैले खोजेर जान सकिने लगायतका फिचरहरूले ट्याक्सी चालकलाई फाइदा हुने कम्पनीले बताएको छ ।
Source: BOE
यसको साथै राइड सेयरिङ कम्पनीहरूले स्क्रिनमा विभिन्न विज्ञापनहरू डिस्प्ले गर्नको लागि प्रयोग गर्न सक्ने कम्पनीको भनाई छ ।