काठमाडौं । ह्वावेको हार्मोनी ओएसका डेभलपर वाङ चेङ्लुले कम्पनी छाडेका छन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार हार्मोनी ओएसका प्रमुख डेभलपर तथा कन्जुमर बीजी सफ्टवेयर इन्जिनियरिङ विभागका प्रमुख वाङले ह्वावे छोडेका हुन् ।
वाङले ‘विबो’ मा ह्वावेको परिचयपत्र ‘फर द मेमोरी अफ फर्गेटिङ’ लेखेर पोस्ट गरेका छन् । यसले वाङले ह्वावेबाट राजीनामा दिएको अनुमान गरिएको छ ।
सन् १९९८ देखि ह्वावेमा जोडिएका वाङले कम्पनीको कोर नेटवर्क प्रडक्ट लाइनका अध्यक्ष, केन्द्रीय सफ्टवेयर इन्स्टिच्युटका अध्यक्ष र उपभोक्ता बीजी सफ्टवेयर विभागका अध्यक्षको रूपमा काम गरिसकेका छन् ।
ह्वावेको हार्मोनी ओएसको विकासको नेतृत्व पनि उनैले गरेका थिए ।
उनले कम्पनी छोडेपछि भने अब हार्मोनी ओएसको भविष्य के हुने हो भन्ने विषयमा धेरै चर्चा चल्न थालेको छ । कम्पनीले भने यो विषयमा कुनै आधिकारिक सूचना दिइसकेको छैन ।