काठमाडौं । सूचना प्रविधिमा आधारित उत्पादनहरूको निर्यातमा सरकारले आठ प्रतिशतसम्म अनुदान दिने भएको छ ।
सूचना प्रविधिसम्बन्धी उत्पादनको निर्यातमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सूचना प्रविधिमा आधारित सेवा तथा व्यवसाय साथै प्रोसेसिङ/आउटसोर्सिङ जस्ता सेवा पहिचान तथा यसको निर्यातमा प्रवर्द्धन गर्न यस्ताे कार्यक्रम ल्याउने भएकाे हाे ।
आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिए ।
सूचना प्रविधिसँग सम्बन्धित उत्पादनहरुको निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिइने उनले बताए ।
उनले उत्पादनमूलक वस्तु उत्पादन तथा पूर्वाधार निर्माण गर्नका प्रोत्साहन गर्नुका साथै मेसिनरी तथा औद्योगिक कच्चा पदार्थको आयातमा सहुलियत प्रदान गरिने समेत उल्लेख गरे ।
साथै स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्यमीलाई थप प्रोत्साहन गरिने मन्त्री शर्माले बताए ।