काठमाडौं । स्मार्टफोनले हामीलाई स्मार्ट तरिकाले काम गर्न अभ्यस्त बनाइरहेको छ । स्मार्टफोनका माध्यमबाट अहिले स्तरीय फोटो, भिडिओ खिच्न मिल्नुका साथै स्तरीय आवाज पनि रेकर्ड गर्न सकिन्छ ।
यदि तपाईंलाई गीत गाउन मनपर्छ वा कथा, कविता वाचन गरेर भिडिओ बनाउन चाहनुहुन्छ भने तपाईंका लागि साउन्ड रेकर्डिङका केही एप निकै उपयोगी सावित हुन सक्छन् ।
साउन्ड रेकर्डिङ गीत रेकर्ड गर्न वा कथा, कविता वाचन गरेर रेकर्ड गर्नबाहेक अन्य थुप्रै प्रयोजनका काम लाग्नसक्छ । यदि तपाईं कसैसँग महत्त्वपूर्ण कुरा गर्दै हुनुहुन्छ भने पनि तपाईंले फोनबाटै आवाज रेकर्ड गरेर आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।
यस्तै महत्त्वपूर्ण कामका लागि रेकर्ड गरिएका आवाज स्पष्ट हुन अति नै आवश्यक पर्छ । त्यसैले कस्ता एपबाट रेकर्ड गरिँदैछ भन्ने कुरा ख्याल राख्नुपर्छ ।
साधारण कामका लागि रेकर्ड गरिएको आवाज स्पष्ट भयो भने त्यसलाई सही तरिकाले प्रयोग गर्न सकिन्छ । आज हामी साउन्ड रेकर्डिङका त्यस्ता एन्ड्रोइड एप्लिकेसनका बारेमा चर्चा गर्दैछौं, जसले निःशुल्क रूपमा तपाईंलाई स्तरीय आवाज रेकर्ड गर्न सघाउँछन् ।
एएसआर भ्वाइस रेकर्डर (ASR Voice recorder) गुणस्तरीय आवाज रेकर्ड रेकर्ड गर्न सकिने मध्यको एक उपयोगी एप हो । यसका माध्यमबाट विभिन्न फर्म्याट जस्तै एमपी थ्री, एफएलएसी, डब्लूएभी, ओजीजी, र एमफाेरएका आवाज रेकर्ड गर्न सकिन्छ । जसलाई तपाईंले आफ्नो आवश्यकता अनुसार भिडिओमा प्रयोग गर्न सक्नुहुन्छ ।
त्यसबाट रेकर्ड गरिएका आवाजहरू ड्रपबक्स, गुगल ड्राइभ, ईमेल आदिमा अपलोड गर्न समेत सकिन्छ । यसले कुनै पनि जानकारी नलिने भएकाले निर्धक्क प्रयोग गर्न सकिन्छ । त्यस्तै यसमा प्लेब्याक गर्न, स्पीड कन्ट्रोल गर्न, ब्लुटुथ डिभाइसमा सपोर्ट गर्ने फिचरहरू समावेश छन् । यसलाई निःशुल्क प्रयोग गर्न सकिन्छ ।
डब्ली अन भ्वाइस रेकर्डिङ एपको सूचीमा पर्ने नयाँ एपहरू मध्यको एक हो । २०२१ फेब्रुअरीमा सार्वजनिक भएको एप छोटो अवधिमा १० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यसमा एएसआर भ्वाइस रेकर्डरभन्दा केही परिष्कृत फिचरहरू समावेश छन् ।
यस एपमा धेरै फिल्टरका सुविधाहरू समावेश गरिएको छ । त्यसमा सबैभन्दा उपयुक्त हो ब्याकग्राउण्ड न्वाइज रिडक्सन फिचर (पृष्टभूमिमा भएको अनावश्यक आवाज घटाउने विशेषता) । यसका माध्यमबाट ब्याकग्राउण्डमा भएका अनावश्यक आवाजहरू घटाउन सकिन्छ ।
त्यस्तै तपाईंलाई आवाज इडिट गर्न पर्यो भने तपाईंले त्यसमा अडियो इडिटिङको विकल्प पनि रहेको छ । तपाईंले एकटपक आवाज रेकर्ड गर्नुभयो भने त्यसले त्यहाँ भएको ब्याकग्राउन्ड न्वाइजलाई एआईका माध्यमबाट स्वतः एडजस्ट गरिदिने गर्छ ।
यदि तपाईंलाई सिस्टमले एडजस्ट गरेको ब्याकग्राउण्ड न्वाइज चित्त बुझेको छैन भने तपाईंले अडियो इडिटिङका अप्सनबाट आफ्नो आवश्यकता अनुसार घटाउन वा बढाउन सक्नुहुन्छ ।
यसलाई अडियोका रूपमा फाइल मेनेजरमा सेभ गर्न मिल्नुका साथसाथै आवश्यकता अनुसार विभिन्न साइटहरू जस्तै जिमेल, गुगल ड्राइभ, ब्लुटुथ आदिबाट शेयर गर्न पनि सकिन्छ ।
यदि तपाईंलाई रेकर्ड गरिएको आवाज भिडिओमा सेभ वा शेयर गर्न पर्यो भने तपाईंले सहजै शेयरको आइकनमा ट्याप गरी आफ्नो आवश्यकता अनुसार सेभ वा शेयर गर्न सक्नुहुन्छ ।
तपाईं गितार वा सङ्गीतका बाजा बजाएर गीत रेकर्ड गर्न खोज्नु भएको छ भने यो एप तपाईंका लागि उपयुक्त हुनसक्छ । यो एप गुगल प्लेस्टोरमा निःशुल्क उपलब्ध हुने भएकाले निर्धक्क प्रयोग गर्न सकिन्छ ।
यसको नामजस्तै यसलाई प्रयोग गर्न पनि सजिलो छ । गुगल प्ले स्टोरबाट इन्स्टल गरिसकेपछि तपाईंले बिना कुनै सेटिङ मिलाई सहजै आवाज रेकर्ड गर्न सक्नुहुन्छ ।
यसको प्रिमियम (शुल्क तिरेर किनिएको) भर्जनमा भने केही थप विशेषता समावेश छन् । निःशुल्क रूपमा प्रयोग गरिसकेपछि तपाईंले यसका माध्यमबाट आफ्नो आवश्यकता अनुसारको फर्म्याटमा सेभ गर्न सक्नुहुन्छ ।