कम्पनी दर्ताको विवरण अब वास्तविक समयमै थाहा पाइने, उद्योग मन्त्रालयले सुरु गर्यो ड्यासबोर्ड
असार १५, २०८३ २२:३९
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ड्यासबोर्ड सञ्चालनमा ल्याइएको छ । मन्त्रालयका कामकारबाही र प्रगतिको विवरण सर्वसाधारणले सहजै जानकारी पाउन सकून् भन्ने उद्देश्यले यो प्रविधि सुरु गरिएको हो ।
यस ड्यासबोर्डमार्फत अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरणहरू 'रियल टाइम' (तत्काल) अद्यावधिक हुनेछन् । नेपालमा हालसम्म कति उद्योग तथा कम्पनीहरू दर्ता भएर सञ्चालनमा छन् भन्ने आधिकारिक तथ्याङ्क पाउन कठिनाइ हुने गरेको थियो । ड्यासबोर्डको सुरुवातसँगै अब ती सम्पूर्ण विवरण एकै ठाउँबाट सहजै हेर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
मन्त्रालयले आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने दर्तासम्बन्धी विवरणहरूलाई समेत यसै प्रणालीमा समावेश गर्ने योजना बनाएको छ । हाललाई यस ड्यासबोर्डमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई एकीकृत गरिएको छ ।
मन्त्रालयमै राखिएको यो ड्यासबोर्डमा सूचना प्रविधि प्रणाली जडान भइनसकेका निकायहरूको विवरण डाइनामिक फर्ममार्फत सङ्कलन गरी समावेश गर्ने व्यवस्था मिलाइएको छ ।
विभिन्न निकायका तथ्याङ्कलाई एपीआईमार्फत एकीकृत गरी वास्तविक समयकै डेटा उपलब्ध गराउने गरी प्रणालीको विकास गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १५, २०८३ २२:३९
