काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन मोबाइल सेवा सञ्चालनमा इच्छुक देखिएको छ । सरकारले अनुमति दिएको खण्डमा आफूहरू माेबाइल सेवा सञ्चालन गर्न तयार रहेको वर्ल्डलिङ्कका निर्देशक मनोज अग्रवालले बताएका छन् ।
‘हामीसँग मोबाइल सेवा उपलब्ध गराउनसक्ने क्षमता, जनशक्ति र स्रोत छ,’ टेकपानासँग कुरा गर्दै उनले भने, ‘सरकारले टेन्डर खुलायो भने हामी प्रतिस्पर्धा गर्छाैं ।’
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकसमेत रहेको वर्ल्डलिङ्कले आफ्नो दायरा विस्तार गर्दै मोबाइल सेवामा पुग्ने योजना बनाएको हो ।
अग्रवालले अगाडि भने, ‘हामी टेलिकम सेवामा जान इच्छुक छौं । तर, त्यसका लागि सरकारले उपयुक्त वातावरण सिर्जना गरिदिनुपर्छ । सरकारले अन्य संस्थालाई पनि टेलिकम सेवा उपलब्ध गराउन आवश्यक नीति बनाएर टेन्डर आह्वान गर्नुपर्छ ।’
नियामक निकायले फ्रिक्वेन्सी अक्सन गरेको अवस्थामा प्रतिस्पर्धामा सहभागी भई फ्रिक्वेन्सी लिएर देशका ग्रामीण भेगमा मोबाइल सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको उनले सुनाए ।