close

दुर्व्यवहारबाट जोगिन आईफोनमा ‘सेफ्टी चेक’ फिचर, आईओएस १६ मा अरु के के छन् सुविधा ?

टेकपाना टेकपाना

जेठ २६, २०७९ ९:४०

दुर्व्यवहारबाट जोगिन आईफोनमा ‘सेफ्टी चेक’ फिचर, आईओएस १६ मा अरु के के छन् सुविधा ?

काठमाडौं । विभिन्न प्रकारका दुर्व्यवहारबाट प्रयोगकर्तालाई सुरक्षा दिन एप्पलले आईओएसमा ‘सेफ्टी चेक’ फिचर ल्याउने भएकाे छ । एप्पलले वर्ल्डवाइड डेभलपर्स कन्फ्रेसमार्फत घोषणा गरेको आईओएस १६ मा यो फिचर दिन लागेको हो ।

कम्पनीका अनुसार यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो मोबाइलमा भएको एप र पासवर्डमा कसको पहुँच हुने वा कसले प्रयोग गर्‍यो भनेर थाहा पाउन सक्नेछन् । कुनै सम्बन्धबाट पीडित भएका व्यक्तिले आफ्नो फोनमा त्यस्ता व्यक्तिहरूको पहुँचमा नियन्त्रण गर्न सक्नेछन् ।

प्रयोगकर्ताले त्यस्ता व्यक्तिहरूको पहुँच आफ्नो फोनमा भएको फाइन्ड माई लोकेसन, डेटा, सम्पर्क नम्बर लगायत अन्य विवरणमा पुग्नबाट रोक्न सक्नेछन् ।

साथै प्रयोगकर्ताले ‘इमर्जेन्सी रिसेट’ फिचर पनि प्रयोग गर्न सक्नेछन् । यो फिचरमार्फत प्रयोगकर्ताले एक क्लिकमा आफ्नो फोनमा पहुँच भएका व्यक्तिहरूको पहुँच हटाउन सक्नेछन् ।

पछिल्ला केही वर्षमा एप्पलले आफ्नो डिभाइसमा यस्ता विभिन्न प्रकारका दुर्व्यवहारबाट बच्न विभिन्न फिचर उपलब्ध गराउँदै आइरहेको छ ।

योसँगै आईओएस १६ मा अन्य नयाँ फिचरहरू पनि समावेश गरिएको छ । आईओएस १६ मा कम्पनीले आईफोनको लक स्क्रिनको लागि धेरै फिचरहरू ल्याएको छ ।

आईओएस १६ को अपडेटसँगै अब आईफोन प्रयोगकर्ताले आफ्नो लक स्क्रिनलाई आफूले चाहेको जस्तै कस्टमाइज गर्न सक्नेछन् ।

साथै ‘लाइभ एक्टिभिटिज’ नामक फिचरमार्फत प्रयोगकर्ताका लागि डेभलपरहरूले लाइभ अपडेट हुने लक स्क्रिन बनाउनेछन् । अर्थात् प्रयोगकर्ताले चाहेको रियल टाइम इन्फर्मेसन, जस्तो कि कुनै चलिरहेको खेलको लाइभ अपडेट, प्रयोगकर्ताको राइड शेयर अथवा खानाको डेलिभरीको ट्रयाकिङ लगायतका जानकारीहरू लक स्क्रिनमा लाइभमा हेर्न सकिनेछ ।

यस्तै अब विजेट टुडे भ्यु मा नभएर सिधैँ लक स्क्रिनमा नै देखिनेछ, जसमा समाचार, मौसम सम्बन्धी जानकारी, क्यालेन्डर लगायतका विवरण पाउन सकिन्छ ।

साथै एउटै विजेटमा क्यालेन्डर, वेदर, समाचार, व्याट्री प्रतिशत, अलार्म लगायतका विवरण हेर्न सकिनेछ ।

यसैगरी मोबाइलको थिममा पनि नयाँ रंग, फिल्टर, ब्याकग्राउन्ड लगायत फन्टहरूमा पनि नयाँ अप्सनहरू थपिएको छ ।

आईओएस १६ को अपडेटसँगै अब नोटिफिकेसन पनि तलबाट माथितिर आउनेछ ।

प्रयोगकर्ताले अब आफ्नो फोटो लाइब्रेरीहरू अन्य प्रयोगकर्तासँग पनि शेयर गर्न सक्नेछन् । आईमेसेजमा पठाइएका मेसेजहरू इडिट वा रिमुभ पनि गर्न सकिनेछ ।

त्यसैगरी मेलमार्फत पठाइएको ईमेल पनि पठाउने समय भन्दाअगाडि नै शेड्युल गर्न सकिनेछ भने पठाउन नपरेको खण्डमा हटाउन सकिनेछ । साथै अब भिडिओबाट पनि लाइभ टेक्स्ट निकाल्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६