काठमाडौं । विगत केही महिनादेखि युक्रेन र रुसबीच युद्ध जारी छ । युक्रेनमाथि रुसले सुरू गरेकाे आक्रमणलाई लिएर विश्वका धेरै प्रविधि कम्पनीहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् ।
यो अवस्थामा रुसले सफ्टवेयर, हार्डवेयर लगायतका प्रविधिमा निकै ठूलो चुनौती खेपिरहेको छ । रुस आफैंले पनि आफूमाथि प्रतिबन्ध लगाउने देश र कम्पनीका उत्पादन प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
यसरी प्रतिबन्ध खेप्दा र लगाउँदा चुनौतीका साथै अवसर पनि सिर्जना भएको छ, जसको ज्वलन्त उदाहरण ह्वावे हो ।
अमेरिका र युरोपेली देशमा लगाइएको प्रतिबन्धका बावजुद पनि ह्वावेले आफ्नो अपरेटिङ सिस्टम र चिपसेटको तयारी गरेको छ, जसले एन्ड्रोइड, विन्डाेज लगायतका अपरेटिङ सिस्टमलाई नै चुनौती थपिदिएको छ ।
त्यस्तै प्रविधि कम्पनीले लगाएको प्रतिबन्धका बावजुद रुसले पनि आफैंले ल्यापटप निर्माण गरेको छ । रुस आफैंले ‘बिटब्लेज टाइटन’ नामक नोटबुक तयार पारेको हो ।
यो ल्यापटपमा ‘बाइकल–एम’ प्रोसेसर प्रयोग गरिएको छ ।
१५.६ इन्चको १०८० आईपीएस युक्त स्क्रिन रहेको ल्यापटपमा १६ जीबी मेमोरी र ५१२ जीबी एसएसडी स्टोरेज रहेको छ ।
वाई-फाई, ब्लुटुथ, यूएसबी ३.०, एचडीएमआई, यूएसबी टाइप-सी लगायत फिचर रहेका छन् । ल्यापटपमा ६००० एमएएच क्षमताको ब्याट्री राखिएकाे छ ।