काठमाडौं । एचटीसीले सन् २०२२ को सुरुवातमै ‘मेटाभर्स’ स्मार्टफोन सार्वजनिक गर्ने जनाएको थियो । विशेषगरि अग्मेन्टेड र भर्चुअल रियालीटीसँग सम्बन्धित एप्लिकेसनका साथ कम्पनीले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्नेछ ।
सामान आपूर्तिमा भएको समस्याका कारण स्मार्टफोन सार्वजनिक गर्न केही ढिलाई भएपनि अब भने सार्वजनिक हुने मिति तय भएको छ । कम्पनीले यही जुलाई २८ तारिखमा आफ्नो मेटाभर्स स्मार्टफोन विश्व बजारमा उपलब्ध गराउने भएको हो ।
कम्पनीले ‘लग इन टु दि फ्युचर’ ‘स्लोगन’ (नारा) का साथ नयाँ स्मार्टफोन सार्वजनिक हुने मिति बारे जानकारी दिएको हो ।
त्यसो त कम्पनीले स्मार्टफोन नै सार्वजनिक गर्ने भनेर कुनै जानकारी दिएको भने छैन । कम्पनीले भाइभर्सका स्मार्टफोन आकारमा देखिने पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।
भाइभर्स एचटीसीको एआर, भीआर तथा एक्सआर जस्ता प्रोडक्ट तथा सेवा उपलब्ध गराउने प्लेटफर्म हो । यस हिसाबले पनि कम्पनीले भाइभर्सका प्रोडक्टलाई लक्षित गरि यो स्मार्टफोन सार्वजनिक गर्ने आँकलन गरिएको हो ।
हालसम्म प्राप्त जानकारी अनुसार यो फोनमा स्न्यापड्रयागन ८४८ एसओसी चिपसेट प्रयोग हुनेछ ।