close

योगेश भट्टराईको प्रश्न- कसको निर्देशनमा विद्युतीय गाडीमा कर लगाइयो ?

टेकपाना टेकपाना

जेठ ३०, २०७९ २०:२६

योगेश भट्टराईको प्रश्न- कसको निर्देशनमा विद्युतीय गाडीमा कर लगाइयो ?

काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले विद्युतीय गाडीमा अन्तःशुल्क लगाइएकोमा विरोध जनाएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विद्युतीय गाडीमा लगाइएको अन्तःशुल्क र भन्सार महसुलको विषय उठाएका हुन् ।

‘विद्युतीय गाडीमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो ? यस्ता वस्तुमा भन्सारका कर तलमाथि गरेर के गर्न खोजिएको हो ? कसको निर्देशनमा कर लगाइएको हो ? हामी गम्भीरताका साथ प्रश्न उठाउन चाहन्छौं,’ उनले भने ।

गत जेठ १५ मा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा १०० देखि २०० किलोवाट आवर क्षमता भएका विद्युतीय सवारीमा भन्सार दर १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याइएको छ ।

यस्ता सवारीमा भन्सार दरबाहेक थप ३० प्रतिशत अन्तःशुल्क समेत लाग्ने भएको छ । यस्तै, २०० देखि ३०० किलोवाट आवर क्षमताका विद्युतीय कारमा भन्सार दर ३० प्रतिशतबाट ४५ प्रतिशत पुर्‍याइएको छ ।

यो क्षमताको विद्युतीय कारमा भन्सार शुल्कबाहेक थप ४५ प्रतिशत अन्तःशुल्क समेत लाग्नेछ । ३०० किलोवाट आवरभन्दा बढी क्षमताको विद्युतीय कारमा लाग्दै आएको भन्सार दर ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत बनाइएको छ । यसमा थप ६० प्रतिशत अन्तःशुल्क समेत लाग्नेछ ।

चालू आर्थिक वर्षमा विद्युतीय सवारीमा अन्तःशुल्क लगाइएको थिएन । तर, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय कारमा समेत अन्तःशुल्क लगाउने निर्णय गरेको हो ।

बजेटले विद्युतीय गाडीको बजारलाई निरुत्साहित गर्ने भन्दै अटोमोबाइल व्यवसायीले बढाइएको कर फिर्ता लिन माग गरेका छन् ।

प्रतिनिधि सभाकाे बैठकमा पनि विभिन्न सांसदले याे विषय उठाइरहेका छन् ।

यता अर्थमन्त्री शर्माले देशको राजस्व र डलर सञ्चितिको अवस्थालाई मध्यनजर गरेर विद्युतीय सवारीमा भन्सार र अन्तःशुल्क थप गरिएको बताएका छन् ।

डलर धेरै बाहिर जाने, डलर धेरै सञ्चिती राख्नुपर्ने, पेट्रोलियम गाडीभन्दा धेरै डलर यसमा पठाउनुपर्ने भएकाले त्यसको क्षतिपूर्ति स्वरूप सरकारले थोरै भन्सार र अन्तशुल्क बढाएको अर्थमन्त्री शर्माको तर्क छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६