close

एउटा यस्तो वेबसाइट, जसले सिकाउँछ कसैको चित्त नदुखाई ‘नाई’ भन्ने तरिका

टेकपाना टेकपाना

जेठ ३१, २०७९ १८:१७

एउटा यस्तो वेबसाइट, जसले सिकाउँछ कसैको चित्त नदुखाई ‘नाई’ भन्ने तरिका

काठमाडौं । व्यक्तिगत जीवनमा होस् या व्यावसायिक जीवनमा, सामान्यतया हामीलाई कुनै पनि कुरा सिधैँ अस्वीकार गर्न अथवा नाई भन्न असहज लाग्छ । कहिलेकाहीँ भने मान्छेको अगाडि नै कुनै कुरा अस्वीकार गर्नुभन्दा ईमेलमार्फत नाई भन्न बढी सहज लाग्छ ।

तर ईमेलमा पनि कस्तो अवस्थामा कसरी अस्वीकार गर्ने भन्ने कुरा जानकारी नहुनसक्छ । यदि तपाईं यसको समाधान खोज्दै हुनुहुन्छ भने चिन्ता नलिनुहोस्, ‘हाउ टु से नो’ प्लेटफर्मले तपाईंलाई नाई भन्नुपर्ने अप्ठ्यारा अवस्थामा सहज बनाइदिन सक्छ ।

यो प्लेटफर्ममा कस्तो अवस्थामा अस्वीकार गर्नको लागि कस्तो रिप्लाई गर्ने भनेर विभिन्न सान्दर्भिक टेम्प्लेट उपलब्ध छन् । उक्त टेम्प्लेटहरू प्रयोग गरेर ईमेलमार्फत अर्को व्यक्तिलाई अप्ठ्यारो महसुस नहुनेगरी सहजै नाई भन्न सकिन्छ ।

‘हाउ टु से नो’ प्लेटफर्म सन् २०२० मा ‘पिजन फर जीमेल’ नामक एक प्लेटफर्मले सुरु गरेको हो । हाउ टु से नो अर्थात् कसरी नाई भन्ने वेबसाइटमा गएर प्रयोगर्ताले कुनै कार्यक्रम, अफर, अनुरोध, निमन्त्रणा लगायतलाई सभ्य भाषामा सहजै अस्वीकार गर्न सकिने ईमेल टेम्पेल्टहरू प्राप्त गर्न सकिन्छ ।

यो प्लेटफर्मलाई सिधैँ जीमेलमा पनि इन्स्टल गर्न सकिन्छ । उपलब्ध टेम्प्लेट प्रयोग गरेर आफ्नो ईमेल तयार गरी पठाउन सकिन्छ, अथवा यसलाई सिधैँ जीमेलमा इन्स्टल पनि गर्न सकिन्छ ।

हाललाई साइटमा ३१  वटा फरक अवस्थाका लागि टेम्प्लेट उपलब्ध छन्, जसमा ग्राहक, डेटिङ, काम, मिटिङ, बिक्रेता, फोन च्याट, रोजगारीको अफर, सामाजिक भेटघाटजस्ता अवस्थामा अस्वीकार गर्नका लागि टेम्प्लेटहरू उपलब्ध छन् ।

साइटमा जानको लागि यहाँ क्लिक गर्नुहोस् । यसको साथै तपाईंले आफूसँग भएका अस्वीकार गर्ने नयाँ उपाय पनि ईमेल टेम्प्लेटको रुपमा साइटमा थप गर्न सक्नुहुनेछ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३